काठमाण्डौं । नेपालले एसिया कप राइजिङ स्टार्स मेन्स २०२६ मा पहिलो जित निकालेको छ। कतारको दोहास्थित युनिभर्सिटी अफ दोहा फर साइन्स एन्ड टेक्नोलोजीमा आइतबार भएको समूह बीको खेलमा नेपालले यूएईलाई ६ विकेटले पराजित गरेको हो। यूएईले दिएको १२२ रनको सामान्य लक्ष्य नेपालले २२ ओभरमा ४ विकेट गुमाएर पूरा गर्यो। नेपालको जितमा कुशल भुर्तेलले अर्धशतकीय इनिङ्स खेले। उनले ५६ बलमा ६ चौका र १ छक्काको मद्दतले सर्वाधिक ५७ रन बनाए। कुशलले १०१।७८ को स्ट्राइक रेटमा ब्याटिङ गरेका थिए।
ओपनर अर्जुन कुमाल ५ रनमा आउट भएपछि क्रिजमा आएका देव खनाल खाता नखोल्दै पेभेलियन फर्किए। नेपालले ८ रन जोड्दा दुई विकेट गुमाएको थियो। त्यसपछि कुशलले मयन यादवसँग तेस्रो विकेटका लागि ६१ रनको साझेदारी गरे। मयनले २८ बलमा ४ चौका र १ छक्कासहित २७ रन बनाए। उनी ६९ रनको अवस्थामा तेस्रो विकेटका रूपमा आउट भए।
कुशलले चौथो विकेटका लागि बसिर अहमदसँग ४३ रनको साझेदारी गरे। कुशल ११२ रनको अवस्थामा ५७ रन बनाएर आउट भए। बसिर अहमद ३१ बलमा १८ रन र पवन सर्राफ ८ बलमा ९ रन बनाउँदै अविजित रहे। पवनले २ चौका प्रहार गरे। यूएईका मुहम्मद मोहसिनले २ विकेट लिए। अंश टन्डन र उड्डिश सुरीले समान १ विकेट हात पारे। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको यूएई ३९।५ ओभरमा १२१ रनमा अलआउट भएको थियो।
यूएईका लागि मुहम्मद शाहदादले ७० बलमा ५ चौकासहित सर्वाधिक ४० रन बनाए। हरप्रीत सिंहले ४८ बलमा ३२ रन जोडे। अन्य ब्याटरले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गरे। उनले १० ओभरमा ३ मेडन राख्दै ११ रन खर्चिएर ३ विकेट लिए। उनको इकोनोमी १।१० रह्यो। सन्दीप खेलको प्लेयर अफ द म्याचसमेत घोषित भए। कुशल भुर्तेलले ५ ओभरमा २ मेडन राख्दै १५ रन दिएर ३ विकेट लिए। ललित राजवंशी, नन्दन यादव र राशिद खानले समान १ विकेट हात पारे।
यसअघि प्रतियोगिताको पहिलो खेलमा नेपाल भारत ए सँग ३०६ रनले पराजित भएको थियो। भारत ए ले दिएको ३३३ रनको लक्ष्य पछ्याएको नेपाल २६ रनमै अलआउट भएको थियो। यूएईलाई पराजित गरेसँगै नेपालले प्रतियोगितामा पहिलो दुई अंक जोडेको छ। नेपालले अब समूह चरणको अन्तिम खेलमा मंगलबार पाकिस्तान ए सँग प्रतिस्पर्धा गर्नेछ।
