काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) ले आफ्नो आगामी प्रथम राष्ट्रिय महाधिवेशनको तयारीलाई तीव्र पारेको छ । महाधिवेशनको पूर्वसन्ध्यामा रास्वपाले हालसम्म देशका पाँचवटा प्रदेश र ६४ जिल्लाको अधिवेशन सम्पन्न भइसकेको जनाएको छ । पार्टी केन्द्रीय कार्यालयका अनुसार स्थानीय तह र वडास्तरका संगठन निर्माणलाई समेत तीव्रता दिइएको छ । पछिल्लो संगठन विवरणअनुसार हालसम्म ६ सय ९ पालिका र ४ हजार ३ सय ६३ वडामा अधिवेशन सम्पन्न भइसकेका छन् ।
रास्वपाका अनुसार कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको अधिवेशन सफलतापूर्वक सम्पन्न भइसकेको छ । कर्णाली प्रदेशको अधिवेशन भने हाल चालू अवस्थामा रहेको छ । आन्तरिक कारणले गर्दा मधेश प्रदेशको अधिवेशन भने हाललाई स्थगन गरिएको पार्टीले जनाएको छ ।
भौगोलिक विकटता र विभिन्न प्राविधिक कारणले केही जिल्लाहरूमा भने अझै अधिवेशन हुन बाँकी छ । कर्णालीका डोल्पा र हुम्ला, लुम्बिनीको रुकुमपूर्व, गण्डकीका मनाङ र मुस्ताङ तथा मधेश प्रदेशका धनुषा, सप्तरी, बारा र सर्लाही जिल्लामा अधिवेशन हुन सकेको छैन ।
यसैगरी सिन्धुपाल्चोक, सिरहा, महोत्तरी र रौतहटमा भने अधिवेशनको प्रक्रिया शुरु भए तापनि विशेष कारणवश हाललाई स्थगन गरिएको जनाइएको छ । बाँकी रहेका स्थानहरूमा पनि महाधिवेशनअगावै प्रक्रिया टुङ्ग्याउने गरी तयारी भइरहेको बताइएको छ ।
रास्वपाको प्रथम ऐतिहासिक राष्ट्रिय महाधिवेशन यही असार ७, ८ र ९ गते चितवनमा आयोजना हुँदैछ । स्थापनाको छोटो समयमै राष्ट्रिय राजनीतिमा बलियो उपस्थिति जनाएको रास्वपाले यस महाधिवेशनमार्फत नयाँ नेतृत्व र पार्टीको भावी राजनीतिक कार्यदिशा तय गर्ने बताएको छ । महाधिवेशनलाई भव्य रूपमा सम्पन्न गर्न चितवनमा सांगठनिक र व्यवस्थापकीय तयारीलाई तीव्र पारिएको सो पार्टीले जनाएको छ ।
