काठमाडौँ । नेपाली काँग्रेसका सभापति गगन थापाले राष्ट्रिय मानवअधिकार आयोगका प्रतिवेदन र सिफारिस पूर्ण कार्यान्वयन हुनुपर्नेमा जोड दिएका छन्। आयोगले सार्वजनिक गरेको पछिल्लो प्रतिवेदन र सिफारिसका सन्दर्भमा शुक्रवार पार्टी केन्द्रीय कार्यालय सानेपामा आयोजित कार्यक्रममा बोल्दै सभापति थापाले विगतमा आयोगका सिफारिस कार्यान्वयन नहुँदा पीडितले न्याय नपाएको र दोषीहरूले सजाय नपाएको अवस्थालाई स्वीकार गर्दै अब त्यस्तो हुन नदिने प्रतिबद्धता व्यक्त गरेका हुन्।
सभापति थापाले नेपाली काँग्रेस अहिले नयाँ सोचका साथ अघि बढिरहेको बताउँदै मानवअधिकारका सवालमा पार्टीले कुनै पनि ‘दोहोरो मापदण्ड’ नअपनाउने स्पष्ट पारे। सभापति थापाले मानवअधिकार आयोगले जाँचबुझ आयोगकै अध्यक्षमाथि प्रश्न उठाएको सन्दर्भमा ‘कार्की आयोग’को प्रतिवेदन निष्पक्ष हुनेमा संशय व्यक्त गरे।
आयोगको प्रतिवेदन आमनिर्वाचनअघि सार्वजनिक नहुनुको पछाडि कुनै विशेष उद्देश्य थियो कि भन्ने प्रश्न गर्दै उनले यस विषयमा थप बहस आवश्यक रहेको औँल्याए। उनले राज्य पक्षबाट पनि बल प्रयोगका क्रममा सीमा उल्लंघन भएको र मानवअधिकारको गम्भीर हनन भएको उल्लेख गर्दै ती घटना माफीयोग्य नहुने र कानूनअनुसार दण्डको भागीदार हुनुपर्ने बताए। थापाले भने, ‘मानवअधिकार आयोगको सिफारिस कार्यान्वयन भएको भए, दोषीहरूले सजाय पाउने र पीडितहरूले न्याय पाउने अवस्था हुन्थ्यो।
मानवअधिकार आयोगले जाँचबुझ आयोगकै अध्यक्षमाथि दोष देखाएको र उहाँमाथि सूक्ष्म अनुसन्धान गर्नुपर्ने उल्लेख गरेको अवस्थामा कार्की आयोगको प्रतिवेदन निष्पक्ष देखिँदैन।’विगतका घटनाले निम्त्याएको पीडा र मानवीय क्षतिप्रति संवेदनशीलता प्रकट गर्दै उनले आवेग र उत्तेजनामा भएका कतिपय घटनालाई मानवीय पाटोबाट हेर्नुपर्ने बताए।
