काठमाण्डौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने नेपालको विकास र समृद्धिको लागी भारत भ्रमणमा आएको बताएका छन्। बिहीबार नयाँ दिल्लीमा आयोजित एक कार्यक्रममा बोल्दै उनले भ्रमणको उद्देश्य राजनीतिक नभई आर्थिक समृद्धि र विकासका लागि सहज वातावरण निर्माण गर्नु रहेको बताए।
‘नयाँ दिल्लीमा राजनीतिक ढोका खोल्न धेरै मानिसहरू आएका छन्, म यस पटक समृद्धिको ढोका खोल्न आएको हुँ,’ उनले सुनाए, ‘समृद्ध नेपालको सपना हामीले धेरै वर्षदेखि देख्दै आएका हौं। त्यसलाई साकार पार्ने सहकार्यको एजेण्डा बोकेर यहाँ आएको हुँ। मेरो व्यक्तिगत वा पार्टीगत कुनै माग छैन, मेरा मुद्दा नेपाल र नेपालीको उन्नतिसँग सम्बन्धित छन्।’ लामिछानेले भारतले विकास र समृद्धिमा छोटो समयमा फड्को मारेको भन्दै नेपालले त्यसबाट सिकेर सहकार्य गर्ने बताए।
‘पछिल्लो १०र१२ वर्षमा भारतले विकास र समृद्धिको जुन फड्को मार्यो, हामी छेउमै बसेर हेरि मात्र रह्यौं,’ उनले भने, ‘अब सँगसँगै यात्रा गर्ने, साना(साना समस्या संवाद र सहकार्यबाट समाधान गर्दै समृद्धिको बाटोमा अघि बढ्ने समय आएको छ।’
वर्तमान सरकारको विषयमा बोल्दै उनले आफ्नो नेतृत्वप्रति जनताले दिएको बलियो जनादेश दिएको बताए। ‘कहिलेकाहीँ सरकारले केही गर्दैन कि, वातावरण बिग्रिन्छ कि भन्ने हल्ला यहाँसम्म आइपुग्न सक्छ,’ उनले भने, ‘तर त्यस्ता हल्लाको पछि लाग्न आवश्यक छैन। हामी पूर्ण प्रतिबद्धताका साथ देश विकासको अभियानमा लागेका छौं।’
आफूहरूले भागबण्डा गर्नका लागि राजनीति गर्ने नभई देश र जनताको भाग्य परिवर्तन गर्नका लागि राजनीतिमा आएको उनको भनाइ छ। यो यात्रा सजिलो छैन, तर असम्भव पनि छैन। हजारौं माइलको यात्रा तय गर्न पहिलो पाइला चाल्नैपर्छ। हामीले त्यही पहिलो पाइला चालेका छौं।’ उनले भने।
