काठमाडौं । नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिमा दुई नयाँ सदस्य नियुक्त भएका छन् । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले बुधबार मन्त्रीस्तरीय निर्णय मार्फत आगामी चार वर्षका लागि उनीहरूलाई नियुक्त गरेका हुन् । नवनियुक्त सदस्यमध्ये निजी क्षेत्रको प्रतिनिधित्व गर्दै काठमाडौं महानगरपालिका–१५ निवासी अंशुकिरण शाहीलाई सञ्चालक समितिमा समावेश गरिएको छ ।
त्यस्तै उपभोक्ताका तर्फबाट नार्गाजुन नगरपालिका–५ निवासी कृष्ण बसेल नियुक्त भएका हुन् । प्राधिकरण सञ्चालक समितिमा उपभोक्तातर्फ प्रतिनिधित्व दलित समुदायको सहभागिता सम्भवतस् पहिलो पटक भएको छ । विद्युत् प्राधिकरणको सञ्चालक समितिले प्राधिकरणका निमित्त कार्यकारी निर्देशक दीर्घायुकुमार श्रेष्ठलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिएको छ । ऊर्जामन्त्री श्रेष्ठको अध्यक्षतामा बुधबार बसेको प्राधिकरण सञ्चालक समितिको १०३०औं बैठकले उक्त निर्णय गरेको हो ।
दीर्घायूकुमार श्रेष्ठ २९ वर्षदेखि प्राधिकरणको प्राविधिक तथा व्यवस्थापकीय जिम्मेवारीमा सक्रिय रहँदै आएका छन् । उनले २०५४ सालमा सातौं तहको अधिकृतका रूपमा प्राधिकरणमा सेवा प्रवेश गरेका थिए । काठमाडौं महानगरपालिका–१२ निवासी श्रेष्ठले इलेक्ट्रिकल इन्जिनियरिङमा स्नातक तथा इन्फर्मेसन एन्ड कम्युनिकेसन इन्जिनियरिङमा स्नातकोत्तर तहको अध्ययन पूरा गरेका छन् ।
प्राधिकरणले ऊर्जा क्षेत्रको व्यवस्थापन, प्रसारण प्रणाली विस्तार तथा विद्युत् सेवा सुधार लगायत कामलाई निरन्तरता दिने अपेक्षा सहित श्रेष्ठलाई कामु कार्यकारी निर्देशकको जिम्मेवारी दिएको हो । नवनियुक्त सञ्चालक समिति सदस्य तथा कामु कार्यकारी निर्देशकलाई बुधबार नै ऊर्जामन्त्री श्रेष्ठले पद तथा गोपनीयताको सपथ गराए ।
