काठमाडौँ । काठमाडौँ उपत्यकाका नदी किनारका सरकारी जग्गामा रहेका बस्ती हटाउन सहरी विकासमन्त्री सुनील लम्सालको नेतृत्वमा समिति गठन गरिएको छ। शुक्रबार उपत्यका भित्रको अव्यवस्थित बस्ती हटाउने विषयमा शहरी विकासमन्त्री लम्सालको अध्यक्षमा बसेको विभिन्न निकाय र सरोकारवाला पक्षको बैठकले समिति गठन गरेको हो।
समितिमा काठमाडौँ महानगरपालिका प्रमुख, गृह मन्त्रालयका सचिव, स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका सचिव, सहरी विकास मन्त्रालयका सचिव, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव र प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सम्बन्धित विषय हेर्ने सचिव सदस्य रहेका छन्।
जिल्ला प्रशासन कायालय, काठमाडौँले जारी गरेको सूचना अनुसार बस्ती खाली गराउने बैठकले निर्णय गरेको छ। त्यसका लागि पूर्वसूचना दिँदै संरचना भत्काउने जनाएको छ।
