काठमाडौँ । सम्पत्ति शुद्वीकरण कसुरमा पक्राउ परेका सुलभ अग्रवालविरुद्ध सात दिन म्याद थप भएको छ । काठमाडौं जिल्ला अदालतका न्यायाधीश तिलकबहादुर कार्कीको इजलासले बुधबार अग्रवालविरुद्ध म्याद थप गर्ने आदेश गरेको छ । अग्रवालसँगै व्यवसायी दीपक भट्टमाथि पनि अनुसन्धान गर्न थप सात दिन समय दिइएको छ । भट्ट पनि सम्पत्ति शुद्वीकरण कसुरमा २०८२ चैत १९ गते पक्राउ परेका थिए ।
शंकर ग्रुपअन्तर्गत जगदम्बा होल्डिङ्सका अध्यक्ष अग्रवाललाई भने सम्पत्ति शुद्धीकरण विभागले चैत २२ मा नियन्त्रणमा लिएको थियो । विभागले अनुसन्धानकै क्रममा सुलभका बाबु शंकर ग्रुपका अध्यक्ष शंकरलाल अग्रवाललाई काठमाडौंबाट नियन्त्रणमा लिएको थियो । तर उनी हाजिरी जमानीमा रिहा भएका छन् । इन्फिनिटी होल्डिङ्स र शंकर ग्रुपबीच भएको शंकास्पद आर्थिक कारोबार अनुसन्धानका क्रममा शंकर अग्रवाल पक्राउ परेको पर्सिपल्टै छोरा शुलभलाई पनि पक्राउ गरिएको हो ।
करोडौंको शंकास्पद आर्थिक कारोबार देखिएपछि नेपाल राष्ट्र बैंकले साढे २ वर्षअघि नै शंकर ग्रुप र इन्फिनिटी होल्डिङ्सबीच भएका वित्तीय कारोबारको अनुसन्धान गर्न विभागलाई पत्र पठाएको थियो । त्यसपछि विभागले पुस २०७९ मा भट्टसँग प्रारम्भिक बयान लिएको थियो । तर सामान्य छानबिन मात्रै गरेर विभागले गत वैशाखमा मुद्दा नचलाई राष्ट्र बैंकलाई उजुरी फिर्ता गरिदिएको थियो । रास्वपाका वरिष्ठ नेता वालेन्द्र शाह प्रधानमन्त्री बनेपछि विभागले पुरानो फाइल ब्युँताएर पुनः अनुसन्धान सुरु गरेको थियो ।
