काठमाडौं । नेपाली कांग्रेसले संविधान संशोधनका विषयमा अध्ययन गरी सुझाव दिन विज्ञ सम्मिलित समिति गठन गरेको छ। पार्टी केन्द्रीय कार्यसमितिको चैत्र ११ गते बसेको बैठकको निर्णय अनुसार उक्त समितिलाई पूर्णता दिइएको हो। समितिको संयोजकको जिम्मेवारी पार्टी उपसभापति पुष्पा भुषाललाई दिईएको छ। समिति सदस्यहरूमा वरिष्ठ अधिवक्ताहरु राधेश्याम अधिकारी, हरिहर दाहाल, प्रेम बहादुर खड्का, उपेन्द्रकेशरी न्यौपाने, शेर बहादुर के।सी।, यदुनाथ खनाल, गोपालकृष्ण घिमिरे, योगेन्द्रबहादुर अधिकारी, दिनेश त्रिपाठी, सिताराम के।सी।, ललितकुमार बस्नेत,रनबहादुर थेवे,शर्मिला श्रेष्ठ,झलमाया वि.क. र निरज गुप्ता छन् ।
कांग्रेसले नेपालको संविधान २०७२ जारी भएको एक दशक पूरा भएको सन्दर्भमा यसको कार्यान्वयनको समीक्षा गर्दै आवश्यक संशोधनका विषय पहिचान गर्न समिति गठन गरेको जनाएको छ। संविधानलाई गतिशील दस्तावेजका रूपमा व्याख्या गर्दै पार्टीले समयानुकूल परिमार्जन लोकतान्त्रिक अभ्यासको स्वाभाविक प्रक्रिया भएको उल्लेख गरेको छ।
समितिले संविधान निर्माणका क्रममा भएका विभिन्न आन्दोलन, समुदायका माग तथा सम्झौताहरूको अध्ययन गर्नुका साथै कार्यान्वयनका क्रममा देखिएका समस्याहरूको विश्लेषण गर्नेछ। संघीयता कार्यान्वयन, तहगत सरकार सञ्चालनका चुनौती, र हालका राजनीतिक घटनाक्रमबाट उठेका विषयहरूबारे सरोकारवालासँग संवाद गर्ने जिम्मेवारी पनि समितिलाई दिइएको छ। समितिको प्रतिवेदनका आधारमा कांग्रेसले संविधान संशोधनबारे आफ्नो आधिकारिक धारणा तय गर्ने र अन्य राजनीतिक दल, नागरिक समाज तथा सरोकारवालासँग संवाद गरी राष्ट्रिय सहमति निर्माणको पहल गर्ने जनाएको छ।
