बारा । बारा जिल्लाको को बरियापुरस्थित प्रसिद्ध धार्मिकस्थल मा लाग्ने पञ्चवर्षीय गढीमाई मेलामा दिनदिनै भीड बढ्दै गएको छ । आइतबार विशेष पूजापश्चात् पञ्चबली सुरु हुने मूल मेला व्यवस्थापन समितिले जनाएको छ । आईतवार सूर्योदय अघि नै विशेष पूजा हुनेछ भने त्यसपछि पञ्चबली दिइने र राँगा बली सुरु हुनेछ । सोमबार बोका बली दिइने तथा यसको सबै तयारी पूरा भएको मूल व्यवस्थापन समितिले जानकारी दिएको छ । दर्शन र विशेष पूजाका लागि छुट्टै व्यवस्था मिलाइएको मूल मेला व्यवस्थापन समितिका अध्यक्ष एवम् महागढीमाई नगरपालिका प्रमुख उपेन्द्र प्रसाद यादवले बताए ।
नेपाल र भारतका छिमेकी राज्यका सरकारमा रहेकाहरुलाई समेत व्यवस्थापन समितिले दर्शनका लागि निम्त्याएको छ । पाँच वर्षमा एक पटक लाग्ने उक्त मेलामा दैनिक हजारौँको संख्यामा दर्शनार्थीहरु आइरहेको यादवले जानकारी दिए । महागढीमाईको वडा नं.१ बरियारपुरमा अवस्थित हिन्दुहरुको शक्तिपिठको रुपमा स्थापित गढीमाई विशेषगरी बलीका लागि चर्चामा रहन्छ । यो मेला विश्वमा सबैभन्दा बढी बली दिइने धार्मिक स्थलको मेला हो । यहाँ आउने श्रद्धालुले भाकल गर्छन् र इच्छाएको कुरा पूरा भएमा पूजापाठ गर्ने तथा बली दिने गर्छन् ।
मूल व्यवस्थापन समितिले श्रद्धालुलाई सहज होस् भनी लाइन लगाइएको जनाएको छ । यसैगरी विशेष पूजा गर्नका लागि पाँच सय रुपैयाँ तिरेर रसिदसहित जानका लागि समेत बेग्लै व्यवस्था गरिएको नगर प्रमुख यादवले बताए । मन्दिर वरपर श्रद्धालुका लागि विभिन्न किसिमका खेलहरु र मनोरञ्जनका साधनहरु छन् । यस पटक पसलहरु पनि व्यवस्थित बनाइएको छ । यसैगरी निःशूल्क स्वास्थ्य परीक्षणदेखि आकस्मिक स्वास्थ्य उपचारको प्रबन्ध पनि मिलाइएको छ । मेलाको अवसरमा नेपाल तथा भारतका लाखौँले दर्शन गर्ने भएकाले सुरक्षाका लागि नगरप्रहरीका साथै नेपाल प्रहरी र सशस्त्र प्रहरीसमेत खटाइएको नगरप्रमुख यादवले जानकारी दिए । यसैगरी दर्शनार्थीलाई सहयोगका लागि स्वयंसेवक पनि खटिएका छन् ।