रुपन्देही । लुम्बिनी प्रदेशमा पुनःस्थापना गृह निर्माण गरिने भएको छ । लैंगिक हिंसा प्रभावितहरुको पुनःस्थापनाको लागि पुनःस्थापना गृहको आवश्यकता परेको हो । एसियाली विकास बैंकको अनुदान सहयोगमा दाङको घोराहीमा पुनःस्थापना गृह बनाउन थालिएको लुम्बिनी प्रदेश सरकारले जनाएको छ । एसियाली विकास बैंकका प्रतिनिधि मण्डलसंगको भेटमा मुख्यमन्त्री चेतनारायण आचार्यले जग्गा प्राप्तिको काम अन्तिम चरणमा पुगेको, लगत्तै भवन निर्माणको ठेक्काको काम अघि बढ्ने जानकारी दिए ।
‘हिंसामुक्त समाज निर्माण गर्ने प्रदेशको संकल्प छ । यसका लागि हिंसा प्रभावितहरुको न्यायमा सहज पहुँच पुर्याउन, समाज र घर परिवारमा पुनःस्थापनाको लागि पुनःस्थापना गृहको आवश्यकता परेको हो’ मुख्यमन्त्री आचार्यले भने, ‘सामाजिक न्याय र समतामुलक समाज निर्माण गर्ने संकल्प प्रदेश सरकारको छ ।’
सामाजिक विकास मन्त्री जन्मजय तिमिल्सिनाले हिंसा प्रभावितहरुको न्यायको लागि अन्य क्षेत्रहरुमा पनि पुनःस्थापना गृहको आवश्यकता रहेको औंल्याए । यसैबीच एसियाली विकास बैंकको अनुदान सहयोगमा प्रदेशका पाँच जिल्लामा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्र भवन निर्माणको काम पनि अघि बढेको छ ।
रुपन्देही, पश्चिमनवलपरासी, पाल्पा, बर्दिया र अर्घाखाँचीस्थित प्रहरी कार्यालयमा महिला, बालबालिका तथा ज्येष्ठ नागरिक सेवा केन्द्रको भवन निर्माण गर्न थालिएको हो । महिला समुत्थान परियोजना अन्तर्गत सेवा केन्द्र र पुनःस्थापना गृह निर्माणको प्रकृया अघि बढेको हो । लैंगिक हिंसा न्यूनि करण गर्न र सेवा प्रवाहलाई प्रभावकारी बनाउने उद्देश्यसहित परियोजना लागू भएको छ ।