काठमाण्डौं । प्रधानमन्त्री केपी ओली चीनको चारदिने औपचारिक भ्रमण पूरा गरी बिहीबार स्वदेश फर्किएका छन् । सोमबार बेइजिङ गएका प्रधानमन्त्री ओली हिमालय एयरलाइन्सको विशेष उडानबाट प्रतिनिधिमण्डलसहित स्वदेश फर्किएका हुन् । प्रधानमन्त्री केपी शर्मा ओलीले चीनसँग ऋण लिने गरी कुनै पनि सम्झौता नगरिएको प्रष्ट पारेका छन् । चीन भ्रमणबाट फर्किए पश्चात विमानस्थलमा पत्रकार सम्मेलनमा कुरा गर्दै उनले बीआरआईका परियोजनाहरुमा सम्झौता भएको बताए ।
ओलीले भने, ‘ऋणको विषयमा कुनै छलफल भएन । अहिले हामीले जे प्राप्त गरेका छौं त्यो ऋण होइन भन्ने धेरैपटक दोहोर्याएका छौ । ऋणको कुरा चलेकै छैन । किन ऋण ऋण भनेर सारंगी बजेको छ, मैले बुझ्न सकेको छैन ।’ प्रधानमन्त्रीले भारतभन्दा पहिले चीन भ्रमण गर्दा नेपाल उत्तरतिर ढल्केको चर्चा भइरहेको छ नि भन्ने पत्रकारको प्रश्नलाई प्रधानमन्त्रीले खण्डन गरे ।
उनले भने, ‘दक्षिणको मिडियाले मित्रहरुलाई भड्काउने, आक्षेप गर्ने कुरा गरेको छ भने त्यो राम्रो तरिका होइन । भारतका लिडरहरुले यस्तो गरेको थाहा छैन ।’ प्रधानमन्त्रीलाई अब दक्षिणको भ्रमण कहिले गर्नुहुन्छ रु भनेर पनि सोधिएको थियो ।उनले जवाफ दिए, ‘अब एरेन्ज गर्नुपर्छ । फर्केकै दिन कसरी भन्ने ।’
ओलीले भ्रमणमा नेपाल–चीनको सम्वन्ध प्रगाढ बनाउने विषयमा चिनियाँ पक्षसँग सौहार्दपूर्ण कुराकानी भएको जानकारी दिए । हिमालय एयरलाइन्सको विशेष चार्टर विमानबाट प्रधानमन्त्री ओली चीन भ्रमणमा गएका थिए । बेइजिङमा रहँदा मंगलबार प्रधानमन्त्री ओलीले चीनका राष्ट्रपति सी जिनपिङ, प्रधानमन्त्री ली छ्याङलगायतसँग बेग्लाबेग्लै भेटवार्ता गरेका थिए । बुधबार नेपाल र चीनबिच बिआरआई कार्यान्वयनको प्रारूप ९फ्रेमवर्क० मा हस्ताक्षरसमेत भएको थियो ।