काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष राजेन्द्र लिङ्देनले विदेशी शक्तिको चाहना, दबाब र प्रलोभनमा परेर राजनीतिक दलहरूले नेपाललाई हिन्दुराष्ट्रबाट धर्मनिरपेक्ष मुलुक बनाएको आरोप लगाएका छन् ।
आइतबार नेपाल सनातन धर्म संस्कृति संगठनको दोस्रो केन्द्रीय महाधिवेशन उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष लिङ्देनले नेपाललाई पुनः सनातन हिन्दुराष्ट्र कायम गर्नुपर्ने धारणा राखे । उनले धर्म र राजनीतिलाई अलग-अलग रूपमा हेर्न नहुनेमा जोड दिए ।
राजनीतिमा धर्मको महत्त्वपूर्ण भूमिका रहने उल्लेख गर्दै उनले धर्म र राजनीतिलाई एकअर्काबाट अलग गर्दा राजनीति गलत दिशातर्फ जान सक्ने बताए । धर्म र राजनीति एकअर्काका परिपूरक भएको उनको भनाइ थियो ।
नेपालको धार्मिक, सांस्कृतिक र मौलिक पहिचानको संरक्षणका लागि सनातन हिन्दुराष्ट्र आवश्यक रहेको लिङ्देनले बताए । नेपाली परम्परा, संस्कृति र सभ्यताको जगेर्ना गर्न पनि हिन्दुराष्ट्र पुनःस्थापना हुनुपर्ने उनको तर्क थियो ।
