काठमाडौं । वैदेशिक रोजगारीका नाममा ठगी तथा संगठित अपराधको कसुरमा पक्राउ परेका पूर्वमन्त्रीसहित ६ जनालाई चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो ( सीआईबी ) ले पक्राउ गरेका तत्कालीन श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्रीद्वय शेरबहादुर कुँवर र रामेश्वर राय यादवसहित ६ जनालाई काठमाडौँ जिल्ला अदालतले बिहीबार अनुसन्धानका लागि चार दिन म्याद थप गरिएको हो ।
पक्राउ पर्ने अन्यमा श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयका तत्कालीन सचिव विनोद केसी, तत्कालीन रोजगार व्यवस्थापन महाशाखा प्रमुखद्वय उमेश ढुंगाना र राजीव पोखरेल तथा मन्त्रालयकी तत्कालीन कानुन अधिकृत निर्मला गुरुङ रहेका छन् । उनीहरूलाई वैदेशिक रोजगारीका नाममा ठगी गरी गैरकानुनी रूपमा रकम संकलन गरेर मलेसिया पठाउने कार्यमा संलग्न रहेको आरोपमा सीआईबीले पक्राउ गरेको थियो ।
नेपाल सरकार र मलेसिया सरकारबीच भएको समझदारीविपरीत गैरकानुनी रूपमा रकम संकलन गरी अमेरिकी डलर र बेलायती पाउन्ड मलेसिया पठाउने निर्णयमा उनीहरू संलग्न रहेको प्रहरीको आरोप छ । सम्झौताको दायरा र कानुनी प्रक्रियाविपरीत अधिकार क्षेत्र नाघेर विदेशी मुद्रा अपचलन गराइएको तथा पद र जिम्मेवारीको दुरुपयोग गरी संगठित समूहलाई लाभ पुर्याइएको आरोपमा उनीहरूमाथि अनुसन्धान भइरहेको सीआईबीले जनाएको छ ।
