काठमाण्डौं । नेपाली कम्युनिस्ट पार्टीका संगठन विभाग प्रमुख वर्षमान पुनले सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा) आन्तरिक कलहको उत्कर्षमा रहेको दाबी गरेका छन्। पार्टीको राष्ट्रिय जागरण अभियानका क्रममा दैलेखका नेता, कार्यकर्तालाई प्रशिक्षण दिँदै उनले रास्वपा भित्रको शक्ति संकर्षकै कारण राज्यका निकायहरू विभाजित र कमजोर बनेको बताए।
राज्यका निकाय कसको प्रभावमा पार्ने भन्ने सभापति रवि लामिछाने र प्रधानमन्त्री वालेन्द्र शाह ुबालेनुको होडबाजीका कारण राष्ट्रियतासमेत कमजोर बनेको र राज्यका स्थापित संस्थाहरू लथालिङ्ग भएको उनले बताए। रास्वपा भित्रको कलह उत्कर्षमा पुग्दै गर्दा कुनै पनि बेला बालेनले सभापति लामिछानेलाई थुन्ने वा रविले बालेनको सत्ता हत्याउने अवस्थाको सृजना हुन सक्ने दाबी उनको छ ।
‘सरकार अहिले भारतसँग लम्पसार परेको छ। कुनै पनि बेला बालेनले रविलाई थुनेमा आश्चार्य नमाने हुन्छ। कुनै बेला रविले प्रधानमन्त्री हटाएमा पनि आश्चार्य हुनेछैन,’ उनले भने। नेता पुनले सरकारको गति संविधान खारेज गर्ने, व्यवस्था खारेज गर्ने र प्रतिक्रान्तिको बाटोमा जाने तर्फ रहेको बताए। जसलाई रोक्न र राष्ट्रियता बलियो बनाउन पनि वामपन्थीबीच एकता र संविधान मान्ने लोकतान्त्रिक दलहरुबीच सहकार्य आवश्यक रहेको उनले बताए।
‘वामपन्थीहरूबीच सहकार्य र ध्रुवीकरण गर्ने र संविधान मान्नेहरूकाबीचको सहकार्य आवश्यक छ। एमालेसँग सहकार्य गर्नैपर्छ। खराव प्रबृत्ति र फासिस्ट कार्यशैलीबारे समिक्षा गर्दै सहकार्य गर्दै जानुपर्छ। देशको स्वाधिनता र लोकतन्त्र तथा नेपालमा वैदेशिक चलखेल बढाउने शक्तिविरुद्ध एक भएर लड्नै पर्नेछ।’ सहकार्य र एकताका लागि अहिले एमालेका नेताहरू निक्कै हतारिएको र विभिन्न भेटमा त्यो अभिव्यक्त हुने गरेको उनले जानकारी पनि गराए।
सुशासन र समृद्धिको बाटोमा नेकपा पनि हिँडोस् भन्ने जनताको चाहाना रहेको र सोहीअनुसार नेकपाले वैज्ञानिक समाजवादको लक्ष बोकेर हिँडेको उनको भनाइ छ। अहिले वैज्ञानिक समाजवादीसँग प्रतिस्पर्धा गर्न नसकेपछि पूँजीवादीहरूले पनि लोककल्याणकारी राज्य समाजवादका आर्थिक सामाजिक कार्यक्रम अवलम्बन गरेको उनले बताए। उनले विश्वभर क्रान्तिकारी आन्दोलन शिथिल बनाउने रणनीति असफल भएको र कम्युनिस्टहरूले पनि आफ्ना कार्यक्रम परिमार्जन र रुपान्तरण गर्दै जनतामा गएर प्रतिस्पर्धाबाट चुनिने र समाजवादतर्फ जाने रणनीति बनाएको बताए।
