काठमाडौं । प्रहरी महानिरिक्षक दानबहादुर कार्कीलाई सरकारले पदमुक्त गरेको छ । आज बसेको मन्त्रीपरिषदको वैठकले उनलाई हटाएर एआईजी डा। मनोज केसीलाई नयाँ आइजीपी बनाएको हो । कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारमा नियुक्त गरिएको छ । सरकारका प्रवक्ता सस्मित पोखरेलले कार्कीलाई कारवाही गरिएको नभएर जिम्मेवारी हेरफेरमात्र भएको दावी गरेका छन् । यद्यपी उनले रास्वपाबाट पनि यसका लागि निर्देशन आएको उल्लेख गरे ।
कार्कीलाई गत वर्ष कात्तिक २४ मा सुशीला कार्की नेतृत्वको सरकारले आइजीपीमा नियुक्त गरेको थियो । उनले कात्तिक २६ गतेबाट जिम्मेवारी सम्हालेका थिए । २४ भदौमा जेनजी आन्दोलनका बेलामा कार्कीले उपत्यकाको कमाण्ड सम्हालेका थिए । करिब एक वर्षको उनको कार्यकाल विवादमुक्त रहेन । उनीमाथि निर्वाचन प्रहरीको पोसाक खरिदमा अनियमितता गरेको आरोप लागेको छ । उनले कमाण्ड कन्ट्रोलमा पनि समस्या देखिएको भन्दै सरकारले उनीमाथि प्रश्न गरिरहेको थियो ।
उनले प्रधानमन्त्री मातहतका व्यक्तिहरूका निर्देशनका आधारमा पनि प्रहरी कमाण्ड चलाउने गरेको भन्दै आलोचना भइरहेको थियो । गत साता पत्रकार र मिडियाका कार्यालयहरूमा प्रहरी परिचालन गरी घरपकड गरिएको थियो । उक्त काम प्रधानमन्त्रीको सचिवालयका व्यक्तिहरूको निर्देशनमा आइजीपी कार्कीले नै गराएको खुलेको थियो ।
