काठमाडौं । सरकारले एआईजी मनोज केसीलाई प्रहरी महानिरीक्षक ( आईजीपी ) बनाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद बैठकले केसीलाई प्रहरीको सर्वोच्च पद महानिरीक्षक नियुक्त गर्ने निर्णय गरेको हो ।
केसी हाल नेपाल प्रहरीको अपराध अनुसन्धान विभाग प्रमुख छन् । मन्त्रिपरिषद स्रोतका अनुसार हालका आईजीपी दानबहादुर कार्कीलाई प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकारको जिम्मेवारी दिइएको छ । मन्त्रिपरिषद स्रोतका अनुसार वर्तमान परिस्थितिमा मुलुकको शान्ति सुरक्षाको व्यवस्था सुदृढ गर्नका लागि भन्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रहरी महानिरीक्षकस्तरको प्रधानमन्त्रीको विशेष सुरक्षा सल्लाहकार पद सिर्जना गरिएको छ । र, विशेष सुरक्षा सल्लाहकार पदमा कार्कीलाई खटाउने निर्णय भएको छ ।
यसअघि सरकारले अच्युत कृष्ण खरेललाई पनि आईजीपीबाट हटाएर राष्ट्रिय अनुसन्धान विभागमा सरुवा गरेको थियो । तर उनी त्यहाँ हाजिर नै हुन गएनन् । दरबन्दी नै नभएको ठाउँमा सरुवा गरेको भन्दै उनी सर्वोच्च अदालत गएका थिए । खरेललाई हटाएर सरकारले ध्रुवबहादुर प्रधानलाई आईजी बनाएको थियो । सर्वोच्चबाट मुद्दा जितेपछि खरेल पुनः आईजीपी भएका थिए ।
