काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनको बन्दसत्रमा चार वटा प्रतिवेदन पेश भएका छन्। आज सभापति गगन थापाको राजनीतिकसहित ४ प्रतिवेदन पेश भएका हुन्। उपसभापति विश्वप्रकाश शर्माको समसामयिक प्रतिवेदन, महामन्त्री प्रदीप पौडेलले साङ्गठनिक र कोषाध्यक्ष उमेश श्रेष्ठले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका हुन्।
चार प्रतिवेदनमाथि छलफल गर्नको लागि तीन वटा हलमा छुट्टाछुट्टै छलफल हुनेछ। बन्दसत्रका लागि हिमाल हल, पहाड हल र तराई–मधेस हल निर्धारण गरिएको छ। हिमाल हलमा कोशी प्रदेशका १ हजार ११७, कर्णाली प्रदेशका २९९ र गण्डकी प्रदेशका ७१५ गरी २ हजार ३३१ प्रतिनिधि सहभागी छन्। त्यस्तै, पहाड हलमा बागमती प्रदेशका १ हजार २१७ र लुम्बिनी प्रदेशका १ हजार ९ गरी २ हजार २२६ प्रतिनिधि सहभागी छन्।
तराई–मधेस हलमा मधेश प्रदेशका १ हजार २५६, सुदूरपश्चिम प्रदेशका ६५०, जनसम्पर्क समितिका २४५ र भ्रातृ सङ्गठनका २२५ प्रतिनिधि सहभागी छन्। प्रतिवेदन आजै पारित गर्ने तयारी छ। भोलिदेखि निर्वाचन प्रक्रिया सुरु हुने जनाइएको छ।
