काठमाडौँ । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले देश, लोकतन्त्र र कांग्रेसको आगामी दिशासहित ‘राष्ट्रिय पुनर्जागरण र समुन्नतिको आगामी दशक’को दृष्टिकोण अघि सार्नुभएको छ। कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सोमबार हुने बन्दसत्रमा थापाले आफ्नो राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै आगामी दशकका लागि पार्टीको वैचारिक, राजनीतिक, संगठनात्मक र राष्ट्रिय कार्यदिशा अघि सार्नुभएको हो।
थापाको प्रतिवेदनमा ऐतिहासिक आत्मसमीक्षा, वर्तमान राष्ट्रिय परिवेश, कांग्रेसको पहिचान र राष्ट्रिय दायित्व, वैचारिक दिशा तथा नवीकरण र समुन्नत नेपालको अवधारणा एवं कार्यप्रणालीलाई मुख्य आधार बनाइएको छ।
प्रतिवेदनमा कांग्रेसको ऐतिहासिक यात्रा, प्राप्त उपलब्धि र अझै पूरा हुन बाँकी दायित्वको समीक्षा गरिएको छ। विगतका राजनीतिक संघर्ष र उपलब्धिबाट सिक्नुपर्ने पाठसँगै १५औँ महाधिवेशनले आगामी चार वर्षको नेतृत्व र त्यसपछिको राजनीतिक दिशाका लागि लिनुपर्ने दायित्वलाई समेत प्रतिवेदनमा जोड दिइएको छ।
थापाले पछिल्लो समय कांग्रेसमा देखिएको सत्ताकेन्द्रित राजनीति, संगठनात्मक कमजोरी र युवापुस्तासँग बढेको दूरीलाई पनि आत्मसमीक्षाको विषय बनाउनुभएको छ। निर्वाचनमा भएको पराजय र पछिल्ला दुई दशकको राजनीतिक अभ्यासको समीक्षा गर्दै परिवर्तनका उपलब्धि र अधुरा वाचाबीचको अन्तर पहिचान गर्नुपर्ने आवश्यकता औँल्याइएको छ। पछिल्ला दुई दशकमा कांग्रेसले मूल उद्देश्यभन्दा पद र सत्तालाई प्राथमिकता दिएको विषय पनि प्रतिवेदनमा स्वीकार गरिएको छ।
प्रतिवेदनमा भदौको जनउभारदेखि १५औँ महाधिवेशनसम्मको राजनीतिक घटनाक्रमलाई समेत विश्लेषण गरिएको छ। बदलिँदो सामाजिक मनोविज्ञान, पुस्ताबीच बढ्दै गएको दूरी, अर्थतन्त्रको अवस्था, बसाइँसराइ र विश्वमा भइरहेको तीव्र परिवर्तनलाई वर्तमान राष्ट्रिय परिवेशका प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरिएको छ।
त्यस्तै, लोकतन्त्रप्रतिको आलोचना विस्तारै लोकतन्त्रकै अस्वीकारसम्म पुग्न सक्ने जोखिम र लोकरिझ्याइँले वैध जनअसन्तोषलाई गलत राजनीतिक निष्कर्षतर्फ लैजान सक्ने अवस्थाप्रति पनि प्रतिवेदनले सचेत गराएको छ। यस्तो अवस्थामा कांग्रेसले लोकतन्त्रको पक्षमा आफ्नो ऐतिहासिक र समकालीन दायित्व स्पष्ट रूपमा निर्वाह गर्नुपर्ने थापाको दृष्टिकोण छ।
जिम्मेवार प्रतिपक्षदेखि राष्ट्रिय शक्तिसम्म
प्रतिवेदनले कांग्रेसलाई केवल निर्वाचनका बेला सक्रिय हुने दलका रूपमा नभई निर्वाचनबीच पनि समाजमा निरन्तर उपस्थित रहने राष्ट्रिय शक्तिका रूपमा विकास गर्नुपर्नेमा जोड दिएको छ। जिम्मेवार र स्पष्ट प्रतिपक्षको भूमिका निर्वाहसँगै नागरिकका गुनासा सुन्ने, प्रमाणमा आधारित निष्कर्ष निकाल्ने र समाधान प्रस्तुत गर्ने राजनीतिक पद्धति विकास गर्नुपर्ने प्रस्ताव गरिएको छ।
थापाले कांग्रेसको दायित्व प्रतिपक्षमा सीमित नभई राष्ट्रिय शक्ति र लोकतान्त्रिक सन्तुलनको आधारका रूपमा स्थापित गर्नुपर्ने बताउनुभएको छ। त्यसका लागि आन्दोलनका सन्देशलाई संस्थागत रूपान्तरण, राजनीतिक ऊर्जालाई लोकतान्त्रिक संस्थागतकरण र सार्वजनिक विश्वासलाई पुनर्निर्माण गर्नुपर्ने विषय प्रतिवेदनमा समेटिएको छ।
सामाजिक आन्दोलन, पार्टी संगठन र लोकतान्त्रिक मध्यस्थताबीचको सम्बन्ध, सार्वजनिक संवाद, साझा तथ्यमा आधारित सामाजिक सम्बन्ध तथा प्रमुख प्रतिपक्षको भूमिकालाई पनि प्रतिवेदनले प्राथमिकतामा राखेको छ। साथै पुस्तागत परिवर्तन, नयाँ राजनीतिक नेतृत्वको प्रवेश र नेतृत्व निर्माणलाई कांग्रेसको आगामी कार्यभारका रूपमा अघि सारिएको छ।
राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादको नयाँ व्याख्या
थापाको राजनीतिक प्रतिवेदनमा कांग्रेसको वैचारिक आधारलाई २१औँ शताब्दीको बदलिँदो परिवेशअनुकूल पुनर्व्याख्या गर्ने प्रयास गरिएको छ। राष्ट्रियता, लोकतन्त्र र लोकतान्त्रिक समाजवादलाई स्थायी राजनीतिक आदर्शका रूपमा राख्दै तिनलाई समुन्नत नेपालको लक्ष्यसँग जोडिएको छ।
राष्ट्रियतालाई राष्ट्रको स्वाधीनता र जनताको सामूहिक स्वशासनसँग, लोकतन्त्रलाई सार्वजनिक शक्तिमाथि नागरिकको स्वामित्वसँग तथा लोकतान्त्रिक समाजवादलाई राजनीतिक स्वतन्त्रतासँगै वास्तविक सामाजिक–आर्थिक स्वतन्त्रतासँग जोडेर व्याख्या गरिएको छ।
यी तीन आदर्शको सम्बन्धलाई स्वतन्त्र राष्ट्र, सार्वभौम नागरिक र न्यायपूर्ण समाज निर्माणको आधारका रूपमा प्रस्तुत गर्दै थापाले राष्ट्रिय मेलमिलापलाई पनि असहमतिका बीच साझा राष्ट्रिय समुदाय निर्माण गर्ने माध्यमका रूपमा अघि सार्नुभएको छ।
‘समुन्नत नेपाल’को अवधारणा
प्रतिवेदनको अर्को महत्वपूर्ण पक्ष ‘समुन्नत नेपाल’को अवधारणा र त्यसलाई कार्यान्वयन गर्ने कार्यप्रणाली हो। लोकतान्त्रिक, संवैधानिक, सामाजिक–आर्थिक तथा मानवीय आधारमा समुन्नत नेपाल निर्माणको दृष्टिकोण अघि सारिएको छ।
थापाले समुन्नतिलाई केवल आर्थिक वृद्धिमा सीमित नगरी नागरिकको सामर्थ्य, अवसर, सहनिर्माण र जवाफदेहिताको चक्रसँग जोड्ने प्रस्ताव गर्नुभएको छ। यस अवधारणामार्फत राज्य, नागरिक र संस्थाबीचको सम्बन्धलाई नयाँ ढङ्गले परिभाषित गर्ने प्रयास गरिएको छ।
‘कस्तो कांग्रेस ? ’ को स्पष्ट खाका
प्रतिवेदनले आगामी कांग्रेस ‘विचारमा स्पष्ट, संगठनमा जीवन्त र जनताप्रति जवाफदेही’ हुनुपर्ने निष्कर्ष अघि सारेको छ। यसअन्तर्गत सदस्यता, नागरिक सहभागिता र पार्टीभित्र स्वामित्वको भावना बढाउने, तहगत समन्वय र साझा सामर्थ्यमा आधारित संगठन निर्माण गर्ने तथा आन्तरिक लोकतन्त्रलाई बलियो बनाउने प्रस्ताव गरिएको छ।
त्यस्तै, अर्थपूर्ण समावेशिता, पाँच पुस्ताको सहयात्रा, परिवारको अपनत्व, राष्ट्रिय सरोकारमा आधारित सामाजिक आन्दोलन तथा विचार र नेतृत्व निर्माणको केन्द्रका रूपमा कांग्रेसलाई विकास गर्ने विषय प्रतिवेदनमा समेटिएका छन्।
जनप्रतिनिधिका लागि उच्च नैतिक मापदण्ड र स्पष्ट कार्यप्रतिबद्धता, पार्टीको स्वच्छ वित्तीय आधार तथा सार्वजनिक लेखापरीक्षणलाई पनि संगठनात्मक सुधारको महत्वपूर्ण पक्षका रूपमा अघि सारिएको छ।
थापाले आगामी चार वर्षको नेतृत्वकाललाई स्पष्ट कार्यभार र कार्यान्वयनसँग जोड्दै त्यसपछि पनि निरन्तर सुधारमार्फत आगामी दशकका परिणाम हासिल गर्ने राजनीतिक योजना प्रस्तुत गर्नुभएको छ। प्रतिवेदनको निष्कर्षमा नागरिकका आकांक्षा पूरा गर्ने, लोकतन्त्रको प्रतिफल जनजीवनमा पुर्याउने र कांग्रेसले आफ्ना मूल राजनीतिक मूल्यप्रति अडान कायम राख्ने विषयलाई केन्द्रमा राखिएको छ।
१५औँ महाधिवेशनको बन्दसत्रमा प्रस्तुत हुने यो प्रतिवेदनले कांग्रेसको विगतको आत्मसमीक्षादेखि आगामी दशकको राष्ट्रिय पुनर्जागरण, समुन्नत नेपाल निर्माण तथा पार्टीको वैचारिक र संगठनात्मक रूपान्तरणसम्मको समग्र खाका अघि सारेको छ।
