काठमाडौं । नारायणगढ–मुग्लिन सडकखण्डअन्तर्गत तुइन खोला क्षेत्रमा आज देखि दैनिक १० घण्टा सवारी आवागमन रोकिने भएको छ। जिल्ला प्रशासन कार्यालय चितवनका अनुसार तुइन खोला क्षेत्रमा सडक मर्मत तथा भित्तो काट्ने ( माटो कटान ) कार्यका लागि निश्चित समय तोकेर आजदेखि दैनिक १० घण्टा सवारी आवागमन बन्द गर्न लागिएको जनाएको हो।
प्रशासनका अनुसार मुग्लिन–काठमाडौं सडकखण्डअन्तर्गत कृष्णभीरमा सडक मर्मत तथा नयाँ ट्रयाक खोल्ने काम भइरहेकाले हाल उक्त सडकमा सवारी चाप न्यून छ। यही अवस्थालाई उपयोग गर्दै नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोला परियोजनाअन्तर्गत भित्तो काट्ने काम अघि बढाउन लागिएको हो। निर्धारित कार्यतालिकाअनुसार बिहान ६ बजेदेखि ८ बजेसम्म, ८ः३० देखि १०ः३० बजेसम्म, ११ बजेदेखि दिउँसो १ बजेसम्म, १ः३० देखि ३ः३० बजेसम्म र ४ बजेदेखि साँझ ६ बजेसम्म सवारी आवागमन पूर्ण रूपमा बन्द गरिनेछ।
त्यसैगरी, प्रत्येक दुई घण्टाको कामपछि आधा घण्टाका लागि सवारी साधन सञ्चालन गर्न दिइनेछ। बिहान ८ देखि ८ः३०, १०ः३० देखि ११, दिउँसो १ देखि १ः३० र ३ः३० देखि ४ बजेसम्म सडक खुला रहनेछ । साँझ ६ बजेपछि भने सवारी आवागमन नियमित रूपमा सञ्चालन हुनेछ ।
