तनहुँ । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका व्यक्तिको पहिचानका लागि डिएनए नमूना सङ्कलन गर्न तनहुँ प्रहरीले बेपत्ताका आफन्तलाई सम्पर्कमा आउन आग्रह गरेको छ। जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले बाढीमा बेपत्ता भएका व्यक्तिका आफन्तलाई आवश्यक डिएनए नमूना उपलब्ध गराउन आग्रह गरिएको जानकारी दिए। हालसम्म बेपत्ता व्यक्तिको पहिचानका लागि कसैले डिएनए नमूना नदिएको उनले बताए।
बाढीले बगाएका शवमध्ये तनहुँ जिल्लाका आँबुखैरेनी र देवघाटस्थित त्रिशुली नदीबाट हालसम्म ३९ शव फेला परेका छन्। तीमध्ये २४ शव पोखरा पठाइएको थियो भने १५ शव व्यास नगरपालिका–५ चनौली क्षेत्रमा व्यवस्थापन गरिएको छ।
यसैबीच, तनहुँ घर भएका ३३ जना व्यक्ति बाढीपछि सम्पर्कविहीन भएको विवरण प्राप्त भएकामा हालसम्म नौ जना सम्पर्कमा आएका छन्। बाँकी व्यक्तिको खोजी तथा पहिचानका लागि प्रहरी र सम्बन्धित निकायले काम गरिरहेको प्रहरीले जनाएको छ।
