चितवन । पृथ्वी राजमार्गको कृष्णभिरलगायत स्थानमा सडक भाँसिएर सडक यातायात अवरुद्ध बनेपछि भरतपुर–काठमाडौँ हवाई उडानमा यात्रुको चाप बढेको छ। यात्रुको चाप बढेसँगै भरतपुरबाट काठमाडौँ उडान दोब्बरभन्दा बढी गरिएको छ। भरतपुरबाट काठमाडौँ लागि बुद्ध एयरको मात्रै जहाज सञ्चालन हुँदै आएका छन्।
बुद्ध एयर भरतपुर कार्यालयका प्रमुख भक्तबहादुर बस्नेतका अनुसार सामान्य अवस्थामा भरतपुरबाट काठमाडौँका लागि दैनिक पाँच उडान हुँदै आएका थिए। अहिले पृथ्वी राजमार्ग अवरुद्ध बनेसँगै उडान सङ्ख्या बढाएर ११ वटासम्म पुर्यायाइएको छ। दैनिक उडान आवश्यकताअनुसार ९ देखि ११ सम्म पुर्याइएको बस्नेतले बताए। भरतपुरबाट काठमाडौँ आवतजावत गर्ने बुद्ध एयरको ‘एटिआर ७२’ जहाज हो।
यसले काठमाडौँबाट भरतपुर ६५ देखि ७० जना र भरतपुरबाट काठमाडौँ जाँदा ५० जना यात्रु ओसार्ने गरेको छ। बुद्ध एयरको ‘एटिआर ७२’ जहाजको क्षमता ७२ जनाको भए पनि धावन मार्ग छोटो भएका कारण क्षमता अनुसारको यात्रु ओसार्न सक्दैन। कृष्णभिरमा सडक अवरुद्ध भएपछि चितवनबाट मकवानपुर हुँदै काठमाडौँ जाने वैकल्पिक सडक प्रयोग गर्न सकिन्छ।
वर्षायामका कारण यात्रुले हवाई यात्रालाई प्राथमिकता दिने गरेका छन्। यहाँ चितवनसहित नवलपरासी, गोरखा, तनहुँ, लम्जुङ, मकवानपुरबाटसमेत यात्रु आउने गरेका छन्। बुद्ध एयरले उडानको संख्या बढाएर यात्रुलाई सहजीकरण गरिएको जनाएको छ।
