काठमाडौँ । सैनिक पोशाक र नेपाली सेनासँग मिल्दोजुल्दो संरचना प्रयोग गरेको भन्दै विवादमा आएको ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज भएको छ। भोटेकोशी–त्रिशूली बाढीपछि सैनिकजस्तो पोशाकमा फिल्डमा देखिएपछि संस्थामाथि प्रश्न उठेको थियो। कम्पनी रजिष्ट्रारको कार्यालयमा गैरनाफामूलक कम्पनीका रूपमा २०७७ साउनमा दर्ता भएको उक्त संस्थाले सामाजिक तथा विपद् व्यवस्थापनका गतिविधि गर्दै आएको थियो।
सैनिक स्रोतका अनुसार दर्ता खारेज भएसँगै संस्थाका गतिविधिमा समेत प्रतिबन्ध लागेको छ। यसअघि संस्थालाई हरियो प्यारामिलिटरी पोशाक तथा सैनिक शैलीका दर्ज्यानी चिह्न प्रयोग गर्न अनुमति दिइएको विषयमा समेत विवाद भएको थियो।
संस्थाका प्रमुख सल्लाहकारमा नेपाल प्रहरीका पूर्वमहानिरीक्षक सर्वेन्द्र खनाल रहेको बताइएको छ।
