काठमाडौँ । सरकार र चिकित्सा शिक्षा आयोगले विगतमा गरेको सहमति कार्यान्वयन नगरेको भन्दै एमबिबिएस तथा बिडिएस इन्टर्न चिकित्सकहरूले पुनः आमरण अनशनमा बस्ने चेतावनी दिएका छन् । एमबिबिएस र बिडिएस इन्टर्न स्टाइपेन्ड मुभमेन्ट नेपालका संयोजक डिल्ली हरिजनले एक प्रेस विज्ञप्ति जारी गर्दै यस्तो चेतावनी दिएका हुन् । गत साउन २२ गते अनशनरत हरिजन र सरकारी वार्ता टोलीबीच भएको सहमति अनुसार चिकित्सा शिक्षा आयोगको बैठकबाट तत्काल निर्णय र कार्यान्वयन हुनुपर्नेमा १६ दिन बितिसक्दा पनि कुनै प्रगति नभएको विज्ञप्तिमा उल्लेख छ ।
इन्टर्न चिकित्सकहरूले मुख्य गरी जीवन निर्वाह भत्ता वृद्धिको माग गरेका छन् । कार्यदलको प्रतिवेदनले पनि अस्पतालमा अनिवार्य समय, रात्रिकालीन सेवा र अतिरिक्त कार्यबोझलाई मध्यनजर गर्दै इन्टर्न चिकित्सकहरूलाई स्वास्थ्य सेवाको आठौँ तहको सुरु तलब स्केलको ५० प्रतिशत निर्वाह भत्ता उपलब्ध गराउन सिफारिस गरेको थियो । हालको महँगी र आवास, खाना तथा यातायात खर्चलाई ध्यानमा राखी यो व्यवस्था तुरुन्त लागू हुनुपर्ने उनीहरूको माग छ ।
यसबाहेक नेपालको श्रम ऐन, २०७४ अनुसार आवासीय तथा इन्टर्न चिकित्सकहरूको कार्यघण्टा सम्बन्धी व्यवस्था सरकारी र निजी दुवै शिक्षण संस्थामा समान रूपमा कार्यान्वयन हुनुपर्ने, निजी मेडिकल कलेजहरूले विभिन्न शीर्षकमा लिने अतिरिक्त शुल्क खारेज गरी सरकारले तोकेको शुल्क मात्र लिनुपर्ने व्यवस्थाको प्रभावकारी अनुगमन हुनुपर्ने र विद्यार्थीका लागि छात्रावास अनिवार्य नगरी वैकल्पिक वा ऐच्छिक बनाइनुपर्ने उनीहरुको माग रहेको छ ।
विगतमा पदाधिकारी अभावका कारण निर्णय प्रक्रिया ढिलाइ भएको बहाना बनाइए पनि अहिले सबै निकायमा आवश्यक पदाधिकारीहरू पूर्ण भइसकेको अवस्थामा पनि आलटाल गरिनु दुखद भएको इन्टर्न चिकित्सकहरूको ठहर छ । अहिले सम्बन्धित निकायका आवश्यक पदाधिकारीहरू पूर्ण भइसकेको अवस्थामा पनि यदि फेरि प्रक्रिया लम्ब्याउने, आलटाल गर्ने वा एउटा निकायबाट अर्को निकायमा विषय सार्ने प्रयास गरिन्छ भने त्यसको कुनै औचित्य रहने छैन, विज्ञप्तिमा भनिएको छ ।
मुभमेन्टले अब कुनै बहाना नगरी चिकित्सा शिक्षा आयोगको फुल हाउस बैठकबाट यी विषयमा स्पष्ट निर्णय गर्न सरकार, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय र विश्वविद्यालयका पदाधिकारीहरूसमक्ष आग्रह गरेको छ । यदि विगतमा जस्तै आलटाल गरी निर्णयलाई अनावश्यक रूपमा लम्ब्याउने प्रयास गरिएमा जुनसुकै बेला पुनः आमरण अनशनमा बस्न बाध्य हुने चेतावनी हरिजनले दिएका छन् ।
