सुनसरी । सुनसरीको देवानगञ्ज गोलीकाण्डमा मृत्यु भएका दुई युवाको अन्त्येष्टि फेरि अन्योलमा परेको छ। सरकार र पीडित पक्षबीच औपचारिक सहमति भइसके पनि मृतकका परिवार तथा स्थानीयले शव बुझ्न अस्वीकार गरेपछि शुक्रबारका लागि तय गरिएको अन्त्येष्टि कार्यक्रम अनिश्चित बनेको हो। गृहमन्त्री सुधन गुरुङको उपस्थितिमा बिहीबार राति भएको वार्तामा सरकारले पीडित परिवारका माग सम्बोधन गर्ने प्रतिबद्धता जनाउँदै सम्झौतापत्रमा हस्ताक्षर गरेको थियो। सोही सहमतिअनुसार शुक्रबार शव बुझेर अन्त्येष्टि गर्ने तयारी थियो।
तर स्थानीयस्तरमा विरोध कायम रहेपछि शव लिन विराटनगर पुगेका परिवारका सदस्यसमेत फर्किएका छन्। मृतक ओमप्रकाश मेहता र जयप्रकाश मेहताको शव हाल विराटनगरस्थित न्युरो अस्पतालको शवगृहमा राखिएको छ। शव नबुझेका कारण पोस्टमार्टम प्रक्रिया समेत अघि बढ्न सकेको छैन।
सुनसरीका प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालले शव बुझाउन अवरोध भइरहेको स्वीकार गर्दै समस्या समाधानका लागि स्थानीय समुदाय, पीडित पक्ष र सरोकारवालासँग निरन्तर छलफल भइरहेको जानकारी दिए। प्रशासनले सहमतिअनुसार प्रक्रिया अघि बढाउने प्रयास गरिरहेको जनाएको छ।
तर स्थानीयको एउटा समूहले सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका गणेश यादवका परिवारसँग पनि सरकारले समान प्रकृतिको सहमति नगरेसम्म देवानगञ्जका मृतकको शव नबुझ्ने अडान लिएको छ। यही अडानका कारण शव हस्तान्तरण प्रक्रिया अवरुद्ध भएको स्रोतले जनाएको छ।
सम्झौताअनुसार सरकारले दुवै मृतकलाई सहिद घोषणा गर्ने प्रक्रिया अघि बढाउने, प्रत्येक परिवारलाई १० लाख रुपैयाँ राहत उपलब्ध गराउने, दोषीमाथि कानुनी कारबाही गर्ने, परिवारका एक–एक जना योग्य सदस्यलाई रोजगारीको अवसर उपलब्ध गराउने, छानबिन समितिको प्रतिवेदन कार्यान्वयन गर्ने तथा मृतकको स्मृतिमा स्मृति पार्क निर्माण गर्ने प्रतिबद्धता जनाएको छ।
