काठमाडौं । सुनसरीका विभिन्न स्थानमा कफ्र्यु आदेश यथावत छ। मंगलबार मध्यराति जिल्ला प्रशासन कार्यालय सुनसरीले सूचना जारी गर्दै अर्को आदेश नआउँदासम्मका लागि कफ्र्यु कायम रहने जनाएको छ। कफ्र्यु इटहरी उपमहानगरपालिका ( वडा नं. १६ र १७ क्षेत्र अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दाया बाँया क्षेत्र ) रामधुनी नगरपालिका ९वडा नं. १ र ५ अन्तर्गत महेन्द्र राजमार्गको २०० मिटर दाया बाँया क्षेत्र०, इनरुवा नगरपालिकाको सम्पूर्ण क्षेत्र, दुहबी नगरपालिकाको सम्पूर्ण क्षेत्र, भोक्राहा नरसिंह गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा लगाइएको छ।
कोसी गाउँपालिकाको सम्पूर्ण क्षेत्र, गढी गाउँपालिकाको सम्पूर्ण क्षेत्र, देवानगञ्ज गाउँपालिकाको सम्पूर्ण क्षेत्र, हरिनगर गाउँपालिकाको सम्पूर्ण क्षेत्र र बर्जु गाउँपालिकाको सम्पूर्ण क्षेत्रमा कफ्र्यु लगाइएको जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाएको छ।
कसैले पनि आवतजावत, कुनै पनि प्रकारको भेला, जुलुस, प्रदर्शन, सभा, बैठक, घेराउ गर्न नपाउने गरी कफ्र्यु आदेश जारी गरिएको प्रशासनले जनाएको छ। आदेश विपरीत कोही कसैबाट कफ्र्यु उल्लघंन भएमा प्रचलित कानुन बमोजिम कारबाही हुने सूचनामा उल्लेख छ।
