इनरुवा । सुनसरीको देवानगञ्ज क्षेत्रमा जारी गरिएको कर्फ्यु आदेश हटाइएको छ। जिल्ला प्रशासन कार्यालय सुनसरीले सोमबार सूचना जारी गर्दै साउन ११ गते राति ९ बजेदेखि लागू गरिएको कर्फ्यु आदेश मङ्गलबार बिहान ६ः१५ बजेदेखि हटाइएको जनाएको हो।
देवानगञ्ज गाउँपालिकाका संवेदनशील क्षेत्रमा स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ ( क ) बमोजिम अनिश्चितकालीन कर्फ्यु जारी गरिएको थियो। कर्फ्यु अवधिमा उक्त क्षेत्रमा आवतजावत गर्न तथा कुनै पनि प्रकारका भेला, जुलुस, प्रदर्शन, सभा, बैठक र धर्ना गर्न निषेध गरिएको थियो।
जिल्ला प्रशासन कार्यालयका अनुसार कर्फ्यु आदेश हटाइए पनि परिस्थितिको निरन्तर अनुगमन भइरहेको छ। शान्ति–सुरक्षा कायम राख्न स्थानीय प्रशासनले सबै पक्षलाई संयमित र जिम्मेवार बन्न आग्रह गरेको छ। प्रमुख जिल्ला अधिकारी ईश्वरीप्रसाद अर्यालद्वारा जारी सूचनाअनुसार कर्फ्यु हटाउने निर्णय साउन १२ गते बिहान ६ः१५ बजेदेखि लागू भएको हो।
