काठमाडौं । सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाको बाँध, विद्युत् गृह तथा सम्बन्धित संरचना निर्माणका लागि आह्वान गरिएको नयाँ ठेक्का प्रक्रिया रद्द भएको छ। आयोजनाले सार्वजनिक सूचना जारी गर्दै ठेक्का रद्द गरिएको जनाएको छ। आयोजनाले सिभिल, हाइड्रोमेकानिकल कम्पोनेन्ट तथा सम्बन्धित संरचना निर्माणका लागि गत जुन ८ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो। उक्त ठेक्काको आर्थिक प्रस्ताव आगामी सोमबार खोल्ने तयारी गरिएको थियो।
नयाँ ठेक्का प्रक्रियामा सहभागी कम्पनीमध्ये तीनवटा कम्पनी प्राविधिक रूपमा योग्य ठहरिएका थिए। उनीहरूको आर्थिक प्रस्ताव खोल्ने तयारी भइरहेका बेला आयोजनाले बोलपत्र नै रद्द गरेको हो। आयोजनाले सार्वजनिक गरेको सूचनामा सार्वजनिक खरिद ऐन, २०६३ को दफा ३९२० बमोजिम बोलपत्र रद्द गरिएको उल्लेख छ। ठेक्का रद्द गर्नुको विस्तृत कारण भने सूचनामा खुलाइएको छैन।
यसअघि आयोजनाको बाँध र विद्युत् गृह निर्माणको जिम्मा पाएको रमण–पटेल संयुक्त उपक्रमसँगको ठेक्का तोडिएको थियो। काममा अपेक्षित प्रगति नभएको भन्दै आयोजनाले २०८२ कात्तिक २५ गते ठेक्का तोड्ने निर्णय गरेको थियो। त्यसपछि बाँकी कामका लागि नयाँ अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो।
यसैबीच, सुनकोसी–मरिण डाइभर्सन बहुउद्देश्यीय आयोजनाका निर्देशक इन्जिनियर कृष्णप्रसाद रिजाल र जलस्रोत तथा सिँचाइ विभागका महानिर्देशक इन्जिनियर दिनेश रजौरियालाई प्रहरीले यसअघि नै नियन्त्रणमा लिएको थियो। उनीहरूलाई क्रमशः सिन्धुली र सिरहाबाट नियन्त्रणमा लिएर काठमाडौं ल्याइएको थियो। पछि उनीहरूलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाइएको थियो। दुई अधिकारी नियन्त्रणमा परेको घटना र ठेक्का रद्द हुने निर्णयबीचको सम्बन्धबारे भने आधिकारिक रूपमा केही खुलाइएको छैन।
