काठमाण्डौं । मानव अधिकार आयोगले सरकारलाई सुनसरीमा देखा परेको कमजोर शान्तिसुरक्षालाई मजबुत बनाउन निर्देशन दिएको छ। आज ९बुधबार० एक विज्ञप्ति जारी गर्दै आयोगले शान्ति सुरक्षा मजबुत बनाउन, घटनाको अनुसन्धान गरी दोषीलाई कानुनी कारबाहीको दायरामा ल्याउन, मृतकका परिवारलाई राहत र क्षतिपूर्ति उपलब्ध गराउन तथा घाइतेहरूको निःशुल्क र प्रभावकारी उपचार गर्न सरकारलाई निर्देशन दिएको हो।
यस्तै आयोगले सामाजिक सद्भाव कायम राख्न अपिलसमेत गरेको छ। शान्तिपूर्णरूपमा वार्ता र संवादकै माध्यमबाट विवादको समाधान खोजी वातावरणलाई सहज बनाउँदै सामाजिक सद्भाव कायम राख्ने कार्यमा सहयोग पुर्याउन राजनीतिक दल, नागरिक समाज, मानव अधिकारकर्मी एवम् सर्वसाधारणलाई आयोगले अनुरोध गरेको छ। साथै आयोगले घटनाको पनि अनुसन्धान गरिरहेको छ।
‘सुनसरीको देवानगञ्जमा दुई समुदाय बिच भएको झडप र झडपपछि प्रहरीको गोली लागी ओमप्रकाश मेहताको मृत्यु भएको घटनाका सम्बन्धमा राष्ट्रिय मानव अधिकार आयोगको कोशी प्रदेश कार्यालय विराटनगरले प्रारम्भिक अनुगमन गरिरहेको छ,’ विज्ञप्तिमा भनिएको छ, ‘आयोगले प्रमुख जिल्ला अधिकारी, सुनसरीका प्रहरी प्रमुख, अस्पताल प्रशासन तथा स्थानीयहरुसँग घटनाको बारेमा जानकारी लिइरहेको छ। आयोगले उक्त घटनाको मानव अधिकारको दृष्टिबाट सूक्ष्म अनुसन्धान सुरु गरिसकेको छ।’
पोलमा झण्डा राख्ने विषयमा दुई समुदायबीच विवाद भएको, डिजे बजाउने क्रममा विवाद उत्कर्षमा पुगेको, विवाद बढ्दै जाँदा दुई पक्ष बिच तोडफोड र झडप सुरु भएको, झडपपछि प्रहरीले स्थिति नियन्त्रणमा लिने क्रममा गोली चलाएको, प्रहरीको गोली लागि ओमप्रकाश मेहताको मृत्यु हुनुका साथै ९ जना घाइते भएका र घाइतेमध्ये दुईको अवस्था गम्भीर रहेको अनुगमनका क्रममा पाइएको आयोगको भनाइ छ।
