सुनसरी । सरकारले सुनसरीको घटना छानबिनका लागि पाँच सदस्यीय समिति गठन गरेको छ। गृह मन्त्रालयका सहसचिव भुपेन्द्र थापाको संयोजकत्वमा ५ सदस्यीय समिति गठन गरिएको हो। यस्तै, घटनाबारे छलफल गृहमन्त्री सुधन गुरुङले केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका छन्। गृहमन्त्रीले साँझ ५ बजे केन्द्रीय सुरक्षा समितिको बैठक बोलाएका हुन्।
सुनसरीको देवानगञ्ज गाउँपालिका–३ कप्तानगन्जमा दुई समूहबीच झडप हुँदा सुरक्षाकर्मीको गोली लागेर कप्तानगञ्जका ओमप्रकाश मेहताको मृत्यु भएको छ।अहिले स्थानीय प्रशासनले कर्फ्यू आदेश जारी गरेको छ।
घटनापछि गृहमन्त्री गुरुङले नेपाल प्रहरी महानिरीक्षक ९आईजीपी० दानबहादुर कार्की र सशस्त्र प्रहरीका आईजीपी नारायणदत्त पौडेल लगायतसँग छलफल गरेका थिए। सुनसरीको देवानगञ्जमा भएको घटनापछि अहिले जिल्ला प्रशासन कार्यालय सुनसरीमा सर्वपक्षीय छलफल सुरु भएको छ । दुई समुदायका बिचमा भएको भिडन्त पछि अहिले सर्वपक्षीय छलफल सुरु भएको हो । छलफलमा जनप्रतिनिधि, राजनीतिक दल, सुरक्षा निकाय, धार्मिक अगुवाहरु सहभागी छन् ।
देवानगञ्ज गाँउपालिकाको कप्तानगञ्जमा आइतबारराति दुई समूहबीच भएको झडप नियन्त्रणका लागि प्रहरीले चलाएको गोली लागेर १ जनाको मृत्यु भएको थियो । ९ जना प्रदर्शनकारी र १३ जना प्रहरी घाइते छन् । यस्तै घटनाका बिषयमा छानबिन गर्न गृह मन्त्रालयले छानबिन समिति बनाएको छ ।
