काठमाण्डौं । आयुर्वेद सेवालाई थप प्रभावकारी बनाउँदै राष्ट्रिय स्वास्थ्य प्रणालीसँग एकीकृत गर्ने र नेपाललाई ‘आयुर्वेदिक स्वास्थ्य पर्यटन’ को प्रमुख गन्तव्यका रूपमा विकास गर्ने विषयमा उच्चस्तरीय छलफल भएको छ। स्वास्थ्य तथा खाद्य स्वच्छतामन्त्री निशा मेहताको उपस्थितिमा मन्त्रालयमा आयोजित छलफलमा आयुर्वेद तथा वैकल्पिक चिकित्सा क्षेत्रको सुधार, सेवा विस्तार र नीतिगत व्यवस्थापनबारे छलफल भएको हो।
मन्त्री मेहताले नेपाल आयुर्वेदको उद्गमस्थल भएकाले यसको संरक्षण, प्रवर्द्धन र स्वास्थ्य पर्यटनसँग जोडेर विकास गर्न सरकार आवश्यक नीतिगत तथा संस्थागत सहयोग गर्न प्रतिबद्ध रहेको बताइन्। छलफलमा पोखरास्थित गण्डकी आयुर्वेद अस्पताल, कीर्तिपुरस्थित आयुर्वेद अनुसन्धान तथा तालिम केन्द्र र बूढानीलकण्ठस्थित राष्ट्रिय आयुर्वेद पञ्चकर्म तथा योग केन्द्रलाई आयुर्वेदिक स्वास्थ्य पर्यटनका प्रमुख केन्द्रका रूपमा विकास गर्ने विषयमा विशेष जोड दिइएको छ।
ती संस्थाहरूको पूर्वाधार, विशेषज्ञ जनशक्ति र अन्तर्राष्ट्रियस्तरको ‘वेलनेस’ सेवा क्षमता अभिवृद्धि गर्दै आकर्षक गन्तव्यका रूपमा स्थापित गर्ने रणनीतिमा मन्त्रालयले काम अघि बढाउने जनाएको छ। यसैगरी, आयुर्वेद सेवालाई स्वास्थ्य बिमा कार्यक्रममा समावेश गर्ने, सङ्गठन तथा व्यवस्थापन सर्वेक्षण सम्पन्न गर्ने र मन्त्रालयमा आयुर्वेदसम्बन्धी संस्थागत संरचना सुदृढ गर्ने विषयमा पनि गहन विमर्श भएको छ।
सहभागीहरूले जडीबुटी उत्पादनदेखि प्रशोधन र औषधि निर्माणसम्मको मूल्य शृङ्खला विकास गर्दै उत्पादन प्रणालीलाई विश्व स्वास्थ्य सङ्गठन ९डब्लुएचओ० को मापदण्डअनुसार सुदृढ बनाउन सुझाव दिएका थिए।
