बिराटनगर । भारतको कोलकाता बन्दरगाहबाट मोरङको विराटनगर–१८ बुधनगरस्थित एकीकृत भन्सार जाँचचौकी ९आईसीपी० मा सोमबार कार्गो रेल आइपुगेको छ। नेपाल–भारतबीच भारतबाट नेपालसम्म कार्गो रेल सञ्चालन गर्ने रुट सम्झौता भएपछि पहिलोपटक व्यावसायिक रूपमा मालबाहक रेल विराटनगर पुगेको हो। स्वस्तिक आयल उद्योगका लागि आवश्यक कच्चा पदार्थ बोकेको कार्गो रेल सोमबार दिउँसो आईसीपीमा आइपुगेको हो।
यसअघि भने भारत सरकारले निर्माण गरेको बथनाहा–विराटनगर रेलमार्ग उद्घाटनका अवसरमा मात्रै कार्गो रेल नेपाल ल्याइएको थियो। तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले २०८० जेठ १७ गते उक्त रेलमार्गको संयुक्त रूपमा उद्घाटन गरेका थिए। उद्घाटन भएको करिब दुई वर्षपछि पुनः मालबाहक रेल विराटनगर आइपुगेको हो। कोलकाता बन्दरगाहबाट सिधै रेलमार्फत सामान ल्याउँदा ढुवानी लागत कम हुने भएकाले विराटनगरका उद्योगी–व्यवसायीले लामो समयदेखि नियमित कार्गो रेल सञ्चालनको माग गर्दै आएका थिए।
अब भारतबाट नेपालसम्म नियमित रूपमा कार्गो रेल सञ्चालन हुने अपेक्षामा उद्योगी–व्यवसायी उत्साहित देखिएका छन्। यसअघि नेपाली उद्योगका लागि आउने कच्चा पदार्थ बोकेको रेल भारतको बथनाहासम्म मात्रै पुग्ने गरेको थियो। त्यहाँबाट सामान ट्रकमार्फत विराटनगर र अन्य स्थानमा ल्याइने व्यवस्था थियो, जसका कारण ढुवानी खर्च र समय दुवै बढ्ने गरेको थियो। पछिल्लो नीतिगत व्यवस्था र आवश्यक प्रक्रियागत समन्वय पूरा भएपछि भने कोलकाता बन्दरगाहबाट विराटनगरसम्म नियमित रेलमार्फत माल सामान ढुवानी गर्ने बाटो खुलेको हो ।
नेपाल–भारत व्यापार सम्झौताअनुसार यसअघि विराटनगर रेलमार्गबाट कोइला, कंक्रिट, रासायनिक मललगायत चार प्रकारका वस्तु मात्रै रेलमार्फत आयात गर्न पाइने व्यवस्था थियो। साथै भारतीय बन्दरगाहदेखि विराटनगरसम्म कार्गो रेल सञ्चालनका लागि आवश्यक रुट सम्झौता पनि नभएकाले रेलमार्ग उद्घाटन भएको दुई वर्षसम्म यसको व्यावसायिक सञ्चालन हुन सकेको थिएन।
विराटनगर भन्सार कार्यालयका प्रमुख उमेश श्रेष्ठका अनुसार करिब छ महिनाअघि नेपाल–भारतबीच भएको नयाँ सम्झौतापछि अब सबै प्रकारका सामान रेलमार्फत आयात गर्न सकिने व्यवस्था भएको छ। उनले नेपालतर्फ अझै केही पूर्वाधार निर्माण गर्न बाँकी रहेको बताए। उनका अनुसार रेलका लागि गोदामघर निर्माण, रेल स्टेशनदेखि आईसीपीसम्मको सडक स्तरोन्नति तथा रेलबाट सामान अनलोड गर्न आवश्यक सिपिङ लाइनको व्यवस्था गर्नुपर्नेछ। प्रमुख श्रेष्ठले अब भारतीय बन्दरगाहहरूबाट नेपालसम्म नियमित रूपमा कार्गो रेल सञ्चालन हुने वातावरण बनेको जानकारी दिए।
