काठमाण्डौं । स्पेनले साविक विजेता अर्जेन्टिनालाई १–० ले पराजित गर्दै फिफा विश्वकप २०२६ को उपाधि जितेको छ। न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको रोमाञ्चक फाइनलको १०६औँ मिनेटमा टोरेसले गरेको गोल नै स्पेनलाई दोस्रो पटक विश्व च्याम्पियन बनाउन पर्याप्त बन्यो। यो उपलब्धि स्पेनले पहिलो पटक विश्वकप जितेको १६ वर्ष र आठ दिनपछि आएको हो। सन् २०१० मा नेदरल्यान्ड्सविरुद्ध अतिरिक्त समयमै आन्द्रेस इनिएस्टाले गरेको गोलले स्पेनलाई पहिलो विश्वकप जिताएको थियो। यसपटक पनि अतिरिक्त समयकै गोलले स्पेनलाई विश्वविजेता बनायो।
यस पटक स्पेनले केवल बिश्वकप मात्रै जितेन । बिश्वकपका अधिकांश ब्यक्तिगत पुरस्कारहरु समेत हात पार्न सफल भएको छ । सन् २०२६ को फिफा विश्वकपमा सर्वाधिक गोलकर्ता बन्दै फ्रान्सका स्टार फरवार्ड किलियन एम्बाप्पे लगातार दोस्रो पटक गोल्डेन बुट जित्ने इतिहासका पहिलो खेलाडी बनेका छन्। त्यस बाहेक गोल्डेन बल, गोल्डेन ग्लोभ तथा उत्कृष्ट युवा खेलाडी सहित विश्वविजेता स्पेनले अधिकांश व्यक्तिगत पुरस्कार आफ्नो नाममा पार्यो।
गोल्डेन बल– रोड्री ( स्पेन )
स्पेनका कप्तान तथा मिडफिल्डर रोड्री प्रतियोगिताकै उत्कृष्ट खेलाडी घोषित हुँदै गोल्डेन बल जित्न सफल भए। न्यू जर्सीस्थित मेटलाइफ स्टेडियममा भएको फाइनलपछि फिफा अध्यक्ष जियानी इन्फान्टिनोले उनलाई पुरस्कार प्रदान गरेका थिए।
३० वर्षीय रोड्रीको करिअरको यो तेस्रो ठूलो व्यक्तिगत सम्मान हो। उनले यसअघि सन् २०२३ मा बालोन डी’ओर तथा युरो २०२४ मा प्रतियोगिताकै उत्कृष्ट खेलाडीको पुरस्कार जितेका थिए। मेसीले सिल्भर बल तथा एम्बाप्पेले ब्रन्ज बल प्राप्त गरे।
गोल्डेन ग्लोभ – उनाइ सिमोन ( स्पेन)
स्पेनका गोलकिपर उनाइ सिमोन प्रतियोगिताका उत्कृष्ट गोलकिपर बन्दै गोल्डेन ग्लोभका हकदार बने। उनले आठ खेलमा केवल एक गोल मात्र बेहोरे भने सात खेलमा क्लिनसिट राखे।
क्वाटरफाइनलमा बेल्जियमका चार्ल्स डे केटेलारेले मात्र उनलाई गोल गर्न सकेका थिए। २९ वर्षीय सिमोनले स्पेनका प्रशिक्षक लुइस डे ला फुएन्टेको विश्वासलाई उत्कृष्ट प्रदर्शनमार्फत सार्थक बनाएका थिए।
उत्कृष्ट युवा खेलाडी – पाउ कुबार्सी ( स्पेन )
स्पेनका १९ वर्षीय बार्सिलोना सेन्टर–ब्याक पाउ कुबार्सी प्रतियोगिताका उत्कृष्ट युवा खेलाडी घोषित भए। उनले स्पेनको रक्षापंक्तिको नेतृत्व गर्दै टोलीलाई प्रतियोगिताभर केवल एक गोल मात्र खान दिए।
अर्जेन्टिनाविरुद्धको फाइनलमा पनि स्पेनले विपक्षीलाई लक्ष्यतर्फ एउटा पनि प्रहार गर्न दिएन। कुबार्सीले प्रतियोगिताभर स्पेनका लागि प्रत्येक मिनेट खेले र टोलीलाई सन् २०१० पछि दोस्रो विश्वकप उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका निर्वाह गरे।
