बुटवल । नेपाली कांग्रेसका सांसद अभिषेकप्रताप शाहविरुद्ध पक्राउ पुर्जी जारी भएको छ । उनी गत फागुन २१ गते भएको निर्वाचनमा कपिलवस्तु प्रतिनिधिसभा क्षेत्र नं ३ बाट निर्वाचित भएका थिए । कपिलवस्तु जिल्ला अदालतले बिहीबार कुटपिट आरोपमा सांसद शाहलाई पक्राउ गरेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो ।
शाहमाथि कृष्णनगर उद्योग वाणिज्य संघका अध्यक्ष सीताराम शर्मामाथि आक्रमणको आरोप छ । कुटपिटको घटनामा शाहविरुद्ध मुद्दा दर्ता भएर कानुनी प्रक्रिया अघि बढेको कपिलवस्तु प्रहरीका सूचना अधिकारी डीएसपी रिपेन्द्रकुमार सिंहले बताए ।
प्रतिनिधिसभा सदस्य शाह र कृष्णनगर नगरपालिकाका नगरप्रमुख रजतप्रताप शाहसहित ४० जनाको समूह आफ्नो निवासमा प्रवेश गरेर अन्धाधुन्ध कुटपिट गरेको पीडित शर्माको दाबी छ । उक्त समूहले शाहका वृद्ध बुबाआमासहित परिवारका अन्य सदस्यहरूमाथि समेत दुर्व्यवहार गरेको दृश्य रिपोर्टस नेपाललाई प्राप्त सिसिटिभी फुटेजमा देखिन्छ ।
