काठमाण्डौं । राइड सेयरिङ श्रमिक गणेश नेपालीको मृत्यु प्रकरणमा न्यायको माग गर्दै अभियन्ता, सांसद तथा अधिकारकर्मीहरूले सरकारले निष्पक्ष छानबिन नगरे आन्दोलन चर्काउने चेतावनी दिएका छन्। उनीहरूले सरकारका नीतिका कारण गणेश नेपाली आत्मदाह गर्न बाध्य भएको आरोप पनि लगाएका छन्।
शनिबार राजधानीमा आयोजित कार्यक्रममा संघीय सांसद पार्वती विकले गरिब तथा श्रमिक वर्गप्रति राज्यको नीति असंवेदनशील बन्दै गएको टिप्पणी गर्दै गणेश नेपाली त्यसैको सिकार बनेको दाबी गरिन्।
उनले गृहमन्त्री सुदन गुरुङले उपचारका विषयमा दिएको अभिव्यक्तिप्रति असन्तुष्टि जनाउँदै सरकारले प्रभावकारी उपचार र न्यायका लागि आवश्यक पहल गर्न नसकेको आरोप लगाइन्। सांसद विकले गणेश नेपालीको घटनालाई आत्महत्या मात्रै भनेर निष्कर्ष निकाल्न नहुने भन्दै घटनाको निष्पक्ष छानबिन हुनुपर्ने माग गरिन्। साथै, राइडरहरूले यसअघि सरकारलाई बुझाएको ज्ञापनपत्रप्रति सरकार मौन बसेको पनि उनले उल्लेख गरिन्।
सामाजिक अभियन्ता तथा पूर्वराजदूत डा। निर्मल विश्वकर्माले गणेश नेपाली राज्यका नीतिका कारण आत्मदाह गर्न बाध्य भएको दाबी गर्दै अव्यावहारिक ट्राफिक जरिवाना प्रणाली पुनरावलोकन गरी जनमैत्री व्यवस्था लागू गर्नुपर्ने माग गरे। उनले सरकारले गरिब, श्रमिक तथा उत्पीडित वर्गको संरक्षण गर्नुभन्दा उनीहरूलाई थप पीडामा पार्ने नीति अवलम्बन गरेको आरोप लगाए।
दलित अधिकारकर्मी केशव नेपालीले गणेश नेपालीको मृत्युले गरिखाने वर्गको पीडा उजागर गरेको उल्लेख गर्दै राज्यका नीति सबै नागरिकप्रति समान हुनुपर्ने धारणा व्यक्त गरे। त्यस्तै, जेनजी युनाइटेडका संयोजक जनक परियारले घटनाको निष्पक्ष छानबिन गरी आत्मदाह गर्न बाध्य बनाउने जिम्मेवार पक्षमाथि कानुनी कारबाही गर्नुपर्ने माग गरे।
राष्ट्रिय जेनजी नागरिक अभियानका प्रवक्ता विर्जन विकले पीडित परिवारलाई उचित क्षतिपूर्ति, राहत र न्याय सुनिश्चित गर्न सरकारसँग आग्रह गरे। श्रम संस्कृति पार्टीका युवा नेता निर्मल परियारले सरकारका नीतिले श्रमिक र निम्न आय भएका नागरिकमाथि थप दबाब सिर्जना गरेको दाबी गर्दै यस्ता घटना दोहोरिन नदिन सरकारले आफ्ना नीति पुनरावलोकन गर्नुपर्ने बताए।
