काठमाण्डौं । सरकारले बुधबार बसेको मन्त्रिपरिषद् बैठकका मुख्य निर्णय सार्वजनिक गरेको छ। सरकारका प्रवक्ता तथा शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सञ्चारकर्मीसँग बैठकका निर्णय सार्वजनिक गरेका छन्।
मन्त्रिपरिषद्को आजको निर्णय अनुसार काठमाडौं उपत्यका विकास प्राधिकरणको विकास आयुक्त पदमा काठमाडौंका सुरज शाक्यलाई नियुक्त गर्ने निर्णय गरेको छ। त्यस्तै कैलालीस्थित गेटा अस्पताललाई शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्न स्वीकृति प्रदान गरिएको छ।
बैठकले शिक्षा क्षेत्रसँग सम्बन्धित दुई महत्वपूर्ण नियमावली पनि स्वीकृत गरेको छ। मन्त्रिपरिषद्ले विदेशी शैक्षिक कार्यक्रम ९सञ्चालन र नियमन० नियमावली, २०८३ तथा शैक्षिक परामर्श, भाषा शिक्षण तथा तयारी कक्षा ९सञ्चालन र व्यवस्थापन०नियमावली, २०८३ स्वीकृत गरेको हो।
यसैगरी, कारागार नियमावली, २०८३ लाई पनि स्वीकृति प्रदान गरिएको छ। मानवअधिकार संरक्षण र प्रवर्द्धनका लागि मानव अधिकारसम्बन्धी छैटौं राष्ट्रिय कार्ययोजना तथा सुशासन सुदृढीकरणका लागि भ्रष्टाचारविरुद्धको दोस्रो राष्ट्रिय रणनीतिक योजना पनि बैठकले अनुमोदन गरेको छ। प्रशासनतर्फ प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सचिव गोविन्दबहादुर कार्कीलाई नेपाल सरकारको मुख्य सचिव पदमा नियुक्त गर्ने निर्णय पनि मन्त्रिपरिषद्ले गरेको छ।
