चक्तपुर । प्रधानमन्त्री बालेन्द्र शाह मंगलबार भक्तपुरको ऐतिहासिक तथा सांस्कृतिक सम्पदाका रूपमा परिचित नवदुर्गा द्योछें ९देवता० घर पुगेका छन्। नवदुर्गा देवगणको विशेष पूजाको दिन प्रधानमन्त्री मन्दिर पुगेका हुन्। मन्दिरमा बिहानैदेखि विशेष पूजा भएको थियो। प्रधानमन्त्रीलाई स्थानीयवासी, गुठियार, नवदुर्गा देवगणका नाइकेहरूले विशेष महत्वका साथ स्वागत गरेका थिए। भ्रमणका क्रममा प्रधानमन्त्रीले नवदुर्गा द्योछेंको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक महत्वबारे जानकारी लिएका थिए।
नवदुर्गा देवगण जात्रा, परम्परागत नाच, तान्त्रिक संस्कार तथा स्थानीय समुदायले पुस्तौँदेखि जोगाउँदै आएको अमूर्त सांस्कृतिक सम्पदाको संरक्षणका विषयमा समेत छलफल भएको जनाइएको छ। स्थानीय गुठियारहरूले नवदुर्गा परम्परा संरक्षणका लागि आवश्यक पूर्वाधार, द्योछेंको संरक्षण तथा जात्रा सञ्चालनका क्रममा देखिएका चुनौतीबारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए। उनीहरूले राज्यबाट थप संरक्षण, बजेट तथा प्राविधिक सहयोग उपलब्ध गराउन आग्रह गरेका छन्।
प्रधानमन्त्रीले नेपालको मौलिक संस्कृति र परम्परा राष्ट्रिय पहिचानको महत्त्वपूर्ण आधार भएकाले यस्ता सम्पदाको संरक्षणमा सरकार प्रतिबद्ध रहेको बताएको सहभागी देवगणहरूले बताए। उनले नवदुर्गा परम्परा केवल भक्तपुरको मात्र नभई सम्पूर्ण नेपालको सांस्कृतिक गौरव भएकाले यसको संरक्षण र प्रवर्द्धनमा आवश्यक सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको पनि बताए।
भ्रमणका क्रममा प्रधानमन्त्रीले द्योछें परिसरको अवलोकन गर्नुका साथै नवदुर्गा देवगणसँग सम्बन्धित विभिन्न सामग्री र परम्परागत विधिबारे जानकारी लिएका थिए। स्थानीय समुदायले पनि प्रधानमन्त्रीको उपस्थितिले नवदुर्गा परम्पराको राष्ट्रिय स्तरमा थप प्रचार–प्रसार र संरक्षणमा टेवा पुग्ने विश्वास व्यक्त गरेका छन्। प्रधानमन्त्री मन्दिरभित्र प्रवेश गरी केही मिनेट मात्रै बसेका थिए।
नवदुर्गा देवगण जात्रा नेपालकै सबैभन्दा लामो परम्परागत नाच तथा जात्रामध्ये एक मानिन्छ। यो जात्रा काठमाडौ उपत्यकासहित उपत्यकाका विभिन्न ठाउँमा गरी वर्षमा नौ महिना प्रदर्शन गरिन्छ। प्रदर्शनमा जाने देवताहरू भलभल अष्टमीको दिन ( यो वर्ष मंगलबार ) मृत्यु हुने र दाहसंस्कार गर्ने परम्परा छ। यस क्रममा उनीहरूले लगाउने मुकुन्डो नजिकैको ब्रम्हायणीमा लगेर जलाइन्छ। अहिले सकेर अर्को वर्ष दसैँमा पुन नयाँ मुकुन्डो बनाई पुनः जन्म भएको मानिन्छ। त्यसपछि जात्रा पुनः सुचारु हुने चलन छ।
