काठमाडौँ । माध्यमिक शिक्षा उत्तीर्ण परीक्षा ( कक्षा १२ नतिजाको पुनर्योगका लागि ३० हजार विद्यार्थीको आवेदन परेको छ। कक्षा(१२ नतिजामा चित्त नबुझेका विद्यार्थीहरुले पुनर्योगका लागि आवेदन दिएका हुन्। वैशाख १४ गतेदेखि २७ गतेसम्म सञ्चालन भएको कक्षा १२ नतिजा असार ५ गते प्रकाशित भएको थियो। राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालय ( कक्षा ११–१२ले उक्त नतिजामा चित्त नबुझेमा पुनर्योगका लागि निवेदन दिन चाहने परीक्षार्थीहरूले १२ गतेभित्र अनलाइन फाराम भर्न आग्रह गरेको थियो।
प्रति विषय एक हजार रुपैयाँ तिरेर असार १२ गते साझ ५ बजेसम्म आवेदन भर्ने समय दिइएको थियो। राष्ट्रिय परीक्षा बोर्डका अनुसार उक्त अवधिमा पुनर्योगका लागि ३० हजारभन्दा बढी विद्यार्थीको आवेदन परेको छ।
गत वर्षभन्दा कम विद्यार्थीको पर्यो आवेदन
बोर्डले गत वर्षमा भन्दा यसपाली कम पुनर्योगका लागि आवेदन परेको जनाएको छ। बोर्डका अनुसार २०८२ मा करिब ३९ हजार विद्यार्थीले कक्षा(१२ को नतिजा पुनर्योगका लागि आवेदन दिएका थिए।
२०८१ मा करिब ४० हजार विद्यार्थीले पुनर्योगको लागि आवेदन दिएका थिए। राष्ट्रिय परीक्षा बोर्डका अनुसार यसपालीको कक्षा(१२ परीक्षामा ६९।७५ प्रतिशत विद्यार्थी पास भएका छन्।
राष्ट्रिय परीक्षा बोर्डका सहसचिव एवं प्रवक्ता जयन्ती सत्यालले नियमित तर्फ ३ लाख ३२ हजार २४१ जना र आंशिकतर्फका ८५ हजार २२९ गरी कुल चार लाख १८ हजार १७० जना विद्यार्थी कक्षा १२ परीक्षामा सहभागी भएको जानकारी दिइन्।
प्रकाशित नतिजानुसार ३।६१ देखि ४।० जीपीए १७ हजार ७८६ जना विद्यार्थीले ल्याए। ३।२१ देखि ३।६० जीपीए ६४ हजार ८२१ जना विद्यार्थीले ल्याए।
२।८१ देखि ३।२० जीपीए ९४ हजार २४९ जनाले ल्याए। धेरै विद्यार्थीले यो प्रतिशत ल्याएका छन्। २।४१ देखि २।८० जीपीए ५० हजार ५९७ जना,२।०१ देखि २।४० जीपीए ४ हजार ३०८ जना विद्यार्थीले ल्याए। १।६१ देखि २।०० जीपीए ९ जनाले ल्याए। एक लाख ४ हजार ७१ जना नन ग्रेडेट भए।
उनीहरुको मौका परीक्षा९पूरक० यही साउन २ र ३ गते हुने छ। परीक्षाफल प्रकाशनका क्रममा कुनै त्रुटि ९स्थगित वा अनुपस्थित, विषय फरक पर्ने, नाम थर, रजिस्ट्रेसन नम्बर फरक पर्ने आदि० देखिएमा परीक्षार्थीहरूले बोर्डका सम्बन्धित कार्यालयहरू वा राष्ट्रिय परीक्षा बोर्ड, सानोठिमी, भक्तपुरमा नतिजा प्रकाशन भएको मितिले ६ महिनाभित्र आवश्यक कागजातसहित निवेदन पेश गर्न सक्नेछन्।
विद्यार्थीहरूको आन्दोलन
यो वर्ष सरकारले कक्षा १२ को नतिजा ४५ दिनभित्र प्रकाशित गर्न बोर्डलाई निर्देशन दिएको थियो। नभन्दै परीक्षा सकिएको ४० दिनमै बोर्डले एसइई नतिजा प्रकाशित गर्न सफल भयो तर हतारमा नतिजा परीक्षण हुँदा गम्भीर त्रुटि भएको भन्दै विद्यार्थीहरुले यो परीक्षाफलप्रति असन्तुष्टि जनाएका छन्।
गत बिहीबार विद्यार्थीले माइतीघर मण्डलामा विरोध नै प्रदर्शन गरे। आफूहरूले परीक्षा राम्रो दिए पनि बोर्डका कर्मचारीहरुले अपेक्षाभन्दा कम नम्बर दिएको उनीहरूको आरोप छ। यसबारे शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले भने प्रष्टीकरण दिइसकेका छन्। उनले कक्षा(१२ नतिजा प्रकाशनमा कुनै पनि हतार नगरिएको बताएका छन्।
बिहीबार विद्यार्थीहरूले नतिजामा त्रुटि देखिएको भन्दै आन्दोलन गरेपछि शिक्षा मन्त्री पोखरेलले सामाजिक सञ्जालबाट भने, ‘नतिजा प्रक्रियाप्रति हामी स्पष्ट र विश्वस्त छौँ, नतिजा समयमै प्रकाशन गर्न कुनै हतार गरिएको होइन, बरु आवश्यक जनशक्ति थप गरी र अनावश्यक प्रशासनिक प्रक्रियाहरू छोट्याई नतिजा प्रकाशित हुनुपर्ने समयमा नै प्रकाशित गरिएको हो।’
