कञ्चनपुर । कञ्चनपुरमा वडाध्यक्षमाथि सार्वजनिक कार्यक्रममा हातपात र दुर्व्यवहार गरेको आरोपमा पत्रकार ऐश्वर्या कुँवरलाई प्रहरीले पक्राउ गरेको छ । भीमदत्त नगरपालिका–१८ का वडा अध्यक्ष रविन्द्र देवकोटामाथि महेन्द्रनगरस्थित एक होटलमा सार्वजनिक कार्यक्रममा पुगेर कुँवरले हातपात गरेको आरोप छ ।
भनाभनका क्रममा कुँवरले वडाध्यक्ष देवकोटामाथि मुक्का प्रहार गरेको सोसल मिडियामा सार्वजनिक भिडियोहरुमा देखिन्छ । उनलाई तत्कालै वडा प्रहरी कार्यालयको टोलीले घटनास्थलबाट नियन्त्रणमा लिएको थियो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक ९डीएसपी० टेकबहादुर रावतले कुँवरलाई पक्राउ गरेर जिप्रकाको हिरासतमा राखिएको बताए ।
उनीविरुद्ध वडाध्यक्ष देवकोटाले अभद्र व्यवहार शीर्षकमा किटानी जाहेरी दिएको बताउँदै डीएसपी रावतले मुद्दा प्रक्रियामा अघि बढ्ने जानकारी दिए । कुँवरले भने आफ्नो फेसबुकमा भिडियो शेयर गर्दै वडाध्यक्षले आफूमाथि दुर्व्यवहार गरेको आरोप लगाएकी छन् । उनी नेपाल पत्रकार महासंघ कन्चनपुरकी सदस्य हुन् ।
