काठमाडौं। पहिलो पटक विश्वकप खेलिरहेको केप भर्डेले आफ्नो ऐतिहासिक यात्रालाई थप रोमाञ्चक बनाएको छ। गत साता प्रतियोगिताको दाबेदार स्पेनलाई गोलरहित बराबरीमा रोक्दै सबैलाई चकित पारेको सानो अफ्रिकी राष्ट्रले आइतबार फेरि अर्को ठूलो टोलीविरुद्ध प्रभावशाली प्रदर्शन गर्यो। यसपल्ट भने दुई पटकको विश्व च्याम्पियन उरुग्वेलाई २–२ को बराबरीमा रोकेको छ।
खेलको २१औं मिनेटमा केभिन पिनाले फ्रिकिकमार्फत विश्वकपमा केप भर्डेको पहिलो गोल गर्दै टोलीलाई अग्रता दिलाए। पछि हेलियो भारेलाले दोस्रो हाफमा बराबरी गोल गर्दै टोलीलाई महत्त्वपूर्ण एक अंक दिलाए। ४८ टोली सहभागी यस विस्तारित विश्वकपमा केप भर्डे अहिले नकआउट चरण पुग्ने सम्भावना बोकेको सबैभन्दा आश्चर्यजनक टोलीमध्ये एक बनेको छ।
खेलपछि प्रशिक्षक पेद्रो लेइताओ ब्रिटोले भने,‘यो उपलब्धि हामीजस्ता साना राष्ट्रका लागि प्रेरणा हो। आर्थिक रूपमा कमजोर भए पनि संघर्ष गर्ने र हार नमान्ने क्षमता भए ठूला टोलीसँग पनि प्रतिस्पर्धा गर्न सकिन्छ भन्ने सन्देश दिन हामी यहाँ आएका हौं।’अफ्रिकाको पश्चिमी तटनजिक रहेका टापुहरूको समूह केप भर्डेको जनसंख्या करिब पाँच लाख मात्र छ। यस आधारमा यो विश्वकपमा छनोट हुने तेस्रो सबैभन्दा कम जनसंख्या भएको राष्ट्र हो।
मियामी स्टेडियममा उरुग्वेका समर्थकहरूको ठूलो उपस्थिति भए पनि केप भर्डेका खेलाडी दबाबमा देखिएनन्। ‘मैदानभित्र पुगेपछि धेरै कुरा बराबर हुन्छन्,’ प्रशिक्षक ब्रिटोले भने। पहिलो हाफको अन्त्यतिर म्याक्सी अराउजो र अगस्टिन कानोब्बियोले गोल गर्दै उरुग्वेलाई २–१ को अग्रता दिलाएका थिए। तर‚ दोस्रो हाफमा मैदान प्रवेश गरेको केही मिनेटमै हेलियो भारेलाले उरुग्वेका डिफेन्डर माथियास ओलिभेराको गलत पासको फाइदा उठाउँदै खाली पोस्टमा गोल गरे।
योसँगै खेल २–२ को बराबरीमा पुर्याए। गोलपछि भारेलाले टोलीका साथीहरूको काँधमा चढेर खुसी साटे भने उरुग्वेका खेलाडीहरू निराश देखिए। उरुग्वेका प्रशिक्षक मार्सेलो बिएल्साले खेलपछि परिणामलाई उचित भन्दै टोलीका संगठनात्मक कमजोरीका कारण मूल्य चुकाउनुपरेको स्वीकार गरे। यो उरुग्वेको लगातार दोस्रो बराबरी हो।
पहिलो खेलमा उसले साउदी अरेबियासँग १–१ को बराबरी खेलेको थियो। अब समूह चरणको अन्तिम खेलमा स्पेनको सामना गर्नेछ। नकआउट चरणमा पुग्न जित अनिवार्यजस्तै बनेको छ। केप भर्डेका ४० वर्षीय गोलरक्षक भोजिन्हाका लागि पनि यो विशेष खेल रह्यो। स्पेनविरुद्ध उत्कृष्ट प्रदर्शनपछि चर्चामा आएका उनले यस पटक आफ्नी आमाको उपस्थितिमा खेले। भिसा नपाएका कारण उनकी आमा पहिलो खेल हेर्न आउन सकेकी थिइनन्।
यो विश्वकप इतिहासकै पहिलो खेल पनि बन्यो जहाँ दुवै टोलीका सुरुआती गोलरक्षक ४० वर्षभन्दा माथिका थिए। उरुग्वेका फर्नान्डो मुस्लेराले आफ्नो १८औं विश्वकप खेल खेलेका थिए र हालै मात्र ४० वर्ष पुगेका छन्। अन्तिम सिटी बज्नासाथ भोजिन्हाले दर्शकलाई हात हल्लाए भने उनका टोलीका साथीहरू समर्थकहरूसँग उत्सव मनाउन दौडिए। समर्थकहरूले जितेझैं नाचगान गर्दै टोलीको ऐतिहासिक प्रदर्शनको खुसी मनाए।
केप भर्डेका डिफेन्डर स्टोपिराले भने,‘हामी विश्वासका साथ मैदानमा उत्रिन्छौं र टोलीका रूपमा कडा मिहिनेत गर्छौं। विश्वले अहिले देखिरहेको छ कि हामी राम्रो फुटबल खेल्न सक्छौं र हाम्रो टोलीमा गुणस्तरीय खेलाडीहरू छन्। अब हाम्रो ध्यान अर्को खेलमा केन्द्रित छ र अर्को चरणमा पुग्ने लक्ष्यमा लागेका छौं।’
