चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) को महाधिवेशन स्थलमा दुग्ध विकास संस्थान ९डिडिसी० का उत्पादनको बजारीकरण गरिएको छ । चितवनमा सुरु भएको महाधिवेशन स्थलमा डिडिसीका उत्पादन बिक्रीका लागि राखिएको हो । सरकारले डिडिसीका उत्पादन प्रवर्धन गरिरहेका बेला संस्थानको हेटौँडा दुग्ध विकास आयोजनाले महाधिवेशन स्थलमा उत्पादन बिक्रीमा राखेको हो । आयोजनाका प्रमुख राजीव खनालले महाधिवेशन स्थलमा दुग्धजन्य पदार्थको बिक्री राम्रो भएको जानकारी दिनुभयो ।
धेरै गर्मी भएकाले पनि फ्रेस मिल्क, मही, दही र लस्सी बढी बिक्री भएको उहाँले जानकारी दिनुभयो । महाधिवेशमा दुध, दही, फ्रेस मिल्क, मोही, मिठाई, आइसक्रिम बिक्रीका लागि राखिएको उहाँले जानकारी दिनुभयो । उत्पादन हेरेर पाँचदेखि १० प्रतिशत छुट दिएको जानकारी उहाँले दिनुभयो । एक दिनमा दुई लाख ५० हजारदेखि तीन लाख रुपियाँ बराबरको कारोबार भएको उहाँले जानकारी दिनुभयो ।
एक महिनाअघि प्रधानमन्त्री बालेन शाहले डिडिसीबाट उत्पादन, चिजसहितको तस्बिर सामाजिक सञ्जालमा पोस्ट गर्दा भाइरल भई उत्पादनको बिक्री बढेको छ । केही समयअघि मन्त्रीपरिषद् बैठकमा पनि डिडिसीका उत्पादनका प्याकेटसहित उपलब्ध गराइएको तस्बिर सार्वजनिक भएको थियो । डिडिसीका सूचना अधिकारी नीलकण्ठ गौतमले पछिल्लो समय डिडिसीका उत्पादनको बिक्री बढ्दै गएको जानकारी दिनुभयो ।
डिडिसीले दैनिक ६० हजारदेखि ६५ हजार लिटर दुध सङ्कलन गर्दै आएको छ । बजारमा दैनिक ८० हजारदेखि ८५ हजार लिटर दुध खपत भए पनि सिजन अफ भएकाले दुध सङ्कलनमा कमी आएको डिडिसीले जनाएको छ । अपुग हुँदा दुध पाउडर दुध मिसाएर बजारमा पठाउने गरेको डिडिसीले जनाएको छ ।
