काठमाडौं । नेकपाका नेता तथा पूर्वसभामुख कृष्णबहादुर महराले सक्रिय राजनीतिबाट बिदा लिएको घोषणा गरेका छन् । आज एक विज्ञप्ति जारी गर्दै पार्टीको सक्रिय राजनीतिबाट अलग भएर सक्रिय सदस्य मात्रै रहने जानकारी गराएका हुन् ।
पूर्वसभामुख समेत रहेका रहेका महराले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘‘आजकै मितिदेखि पार्टीको सक्रिय जिम्मेवारीबाट अलग भई साधारण सदस्य रहने निर्णय गरेको जानकारी गराउन चाहन्छु। यो निर्णय कुनै असन्तुष्टि, गुनासो वा वैचारिक विचलनका कारण नभई केवल स्वास्थ्य अवस्थाले सिर्जना गरेको बाध्यतात्मक परिस्थितिको परिणाम हो।’ पार्टी जीवनको अन्तरसंघर्ष, नेतृत्व निर्माण र नेपालको राष्ट्रिय स्वाधीनताको सवालमा सधैँ इमानदार र प्रतिबद्ध रहिरहने जानकारी गराएका छन्।
उनले भनेका छन्, ‘पार्टीमा बिताएका वर्षहरू, आन्दोलनका स्मृतिहरू, सहकर्मी साथीहरूको आत्मीयता र देश तथा जनताप्रतिको मेरो प्रेम र प्रतिबद्धता कहिल्यै समाप्त हुने छैन। मेरो शरीर कमजोर भए पनि देशप्रतिको चिन्ता, जनताप्रतिको माया र समुद्र नेपालको सपना अन्तिम श्वाससम्म जीवित रहनेछ।’ उनले केही वर्षयता आफू एट्रोफी सम्बन्धी रोगबाट पीडित भएको जानकारी उल्लेख गरेका छन्।
उनले अगाडि भनेका छन्, ‘नसाहरू र मांसपेशीहरू क्रमशः खुम्चिँदै जाने यस समस्याका कारण नियमित उपचार, थेरापी तथा औषधि सेवन गरिरहे पनि स्वास्थ्य अवस्थाले अपेक्षित साथ दिन सकेको छैन। परिणामस्वरूप, पार्टीका नियमित गतिविधि र जिम्मेवारीहरूमा विगतझैँ सक्रिय, प्रभावकारी र जिम्मेवार ढङ्गले योगदान गर्न कठिन हुँदै गएकै छ।’
