मकवानपुर । मकवानपुरको भीमफेदी गाउँपालिका-६ जुरीखेलमा आज मंगलबार बिहान स्कारपियो दुर्घटना हुँदा घाइते भएका ६ जनाको पहिचान खुलेको छ। दुर्घटनामा उच्च अदालत वीरगञ्जका मुख्य न्यायाधीश गोकर्ण डाँगी, रजिस्ट्रार तारादत्त बडुसहित ६ जना घाइते भएका हुन्।
अन्य घाइतेमा स्कारपियो चालक दाङ राप्ती नगरपालिका-८ का ३२ वर्षीय छुनिलाल चौधरी, रजिस्ट्रा बडुकी श्रीमती ४९ वर्षीया लक्ष्मी बडु, छोरा २५ वर्षीय रितेन्द्र बडु र दिदी ३१ वर्षीया रिता बडु छन्। लक्ष्मी बडुको अवस्था गम्भीर छ भने अन्य पाँच जनाको अवस्था मध्यम रहेको प्रहरीले जनाएको छ।
उनीहरूको टाउको तथा शरीरका विभिन्न भागमा चोट लागेको छ। मंगलबार (आज) बिहान करिब ७ बजे काठमाडौँबाट वीरगन्जतर्फ आउँदै गरेको प्रदेश ३–०१–००२ झ ५१८३ नम्बरको स्कारपियो भीमफेदी–६ जुरीखेलमा अनियन्त्रित भई सडकबाट करिब ५०/६० मिटर तल खोल्सामा खसेर दुर्घटना भएको थियो।
घाइतेहरूलाई उपचारको लागि हेटौँडा अस्पतालमा पठाइएको छ। तर त्यहाँ उपचार सम्भव नहुने भएपछि हेलिकोप्टरमा थप उपचारका लागि काठमाडौं पठाउन लागिएको प्रहरी उपरीक्षक श्यामबाबु खत्रीले जानकारी दिए।
