काठमाडौं । विपक्षी दलले प्रधानमन्त्री खोज्दै आज पनि सदनमा विरोध जनाएका छन्। आकस्मिक, शून्य र विशेष समयपछि सभामुखले कार्यसूची अगाडि बढाउन खोजेपछि विपक्षी दलका सांसदहरुले उठेर विरोध जनाएका हुन्। विपक्षीले उठेर विरोध जनाएपछि सभामुखले कांग्रेसकी प्रमुख सचेतक बासना थापालाई बोल्न दिए।उनले पछिल्लो समय सरकारको कार्यशैलीले गम्भीर प्रश्न उब्जाएको बताइन्।
उनले भनिन्, ‘संसद् केवल संख्याको खेल होइन, यो विचार–विमर्श, उत्तरदायित्व र सहमतिका आधारमा चल्ने सर्वोच्च लोकतान्त्रिक थलो पनि हो। तर दुर्भाग्यवश, सरकार बहुमतको दम्भमा संसद्को गरिमा र प्रतिपक्षको भूमिकालाई कमजोर बनाउने दिशा तर्फ उन्मुख देखिएको छ। प्रतिपक्षको अवरोध बीच विधेयकहरू पास गर्दा किन बहुमतको दम्भ देखाउनुभयोरु’ प्रधानमन्त्री र प्रधानमन्त्रीका कारणले संसदीय समितिहरू प्रभावकारी रूपमा काम गर्न नसकिएको बताइन्।
उनले थपिन्, ‘प्रधानमन्त्रीसँग प्रश्नोत्तर कार्यक्रममा प्रतिपक्षको माग र जनचासोका विषयलाई बेवास्ता गर्दै सञ्चालन गर्नु संसदीय मर्यादाको अभ्यास होइन। आज यी सबै घटनाले लोकतन्त्रको आत्मामाथि नै प्रश्न उठिरहेको छ। बहुमत सरकार चलाउने आधार हुन सक्छ, तर लोकतन्त्र चलाउने आधार होइन।’ नेकपा एमालेका प्रमुख सचेतक ऐन महरले प्रधानमन्त्री सदनमा नआएसम्म सदन अगाडि नबढ्ने बताएका छन्। प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले सभामुखलाई रुलिङ गर्न माग गरे ।
उनले भने, ‘झन्डै दुई तिहाइ बहुमत प्राप्त गरेको सरकार र त्यसका प्रमुख यो संसद्सँग किन तर्सिरहनुभएको छ रु यो संसद्सँग किन टाढा भइरहनुभएको छ र यसबाट यसलाई छल्न खोजिरहनुभएको छरु यो आज आम नेपाली जनता र हामी यो संसद्मा प्रतिनिधित्व गर्ने सबैको प्रश्न हो ।’ संसद्ले उत्पादन गरेको प्रधानमन्त्री संविधान र नियमावलीविरुद्ध गएको आरोप लगाए।
उनले थपे, ‘प्रधानमन्त्री किन सदनलाई किन इग्नोर गर्न खोजिरहनुभएको छ रु खोपीको देउता बन्दै हुनुहुन्छ ? के प्रधानमन्त्री बालेन शाहलाई खोपीको देउता बनाउँदै घण्टी हल्लाएर पूजा गरेको हो ? घण्टी बजाएर पूजा गर्दै हो ? के गर्न के बालेनतन्त्र चाहिँ स्थापना गर्न खोजिएको हो ? लोकतन्त्रको चीरहरण गरेर बालेनतन्त्र स्थापना गर्न खोजिएको हो ? नेकपाका प्रमुख सचेतक युवराज दुलालले १ मिनेट भएपनि प्रधानमन्त्री सदनको रोष्ट्रममा उभिनुपर्ने बताएका छन्। प्रतिनिधि सभाको बैठकमा बोल्दै प्रधानमन्त्री संविधानभन्दा माथि नभएको बताए। उनले भने, ‘१ मिनेट किन नहोस्, प्रधानमन्त्री संसद्को रोस्ट्रममा आएर उभिनुपर्यो। प्रधानमन्त्री हाम्रो पनि हो, सारा नेपाली नागरिकको हो।
हाम्रो प्रधानमन्त्रीलाई हाम्रो संविधानभित्र रहन र प्रतिनिधिसभा नियमावलीभित्र रहेर यो संसद्लाई सम्बोधन गर्नुस् भनेर माग्नु हाम्रो अधिकार होस्।’ संसद्मा विचार मन्थन भएर तर्क वितर्क गरेर दूरगामी र गम्भीर महत्त्व राख्ने विधेयकहरू पारित गर्नुपर्ने बताए। उनले थपे, ‘सरकारले जे ल्यायो त्यही बहुमतको छँदै छ भन्ने नाममा सबै कुरा पारित गर्ने हो भने हामी भत्ता खाएर यो संसद्मा किन बस्नुपर्योरु बहुमत त छँदै छ। सबै सरकारले ल्याएपछि सभामुखज्यूले प्रमाणीकरणका लागि राष्ट्रपतिका पठाइदिए भइहाल्छ।’
