चितवन । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले आफ्नो पार्टी रास्वपाको दुश्मन नभएको बताएका छन् । रास्वपाको प्रथम महाधिवेशनलाई सम्बोधन गर्ने क्रममा उनले यस्तो बताएका हुन् । नेपाली कांग्रेस रास्वपाको प्रतिस्पर्धी हो, दुश्मन होइन । हामी प्रतिस्पर्धा गर्ने हो । हामी अग्लो हुन चाहन्छौं,’ सभापति थापाले भने, ‘तपाईंहरूको अग्लाइ देखेर लोभ लागेको छ । हामी तपाईंहरूभन्दा अग्लो हुन चाहन्छौं । बन्छौं पनि एक दिन ।’
तर, रास्वपालाई सानो बनाएर वा खुट्टा काटेर आफूहरू अग्लो हुने चाहनामा नभएको बताए । तर तपाईंहरूलाई सानो बनाएर होइन । तपाईंहरूको खुट्टा काटेर होइन । मन वचन र कर्मले इमानदारितापूर्वक काम गरेर अग्लो हुन चाहन्छौं,’ उनले भने, ‘हामी सफा हुन चाहन्छौं, तर तपाईंहरूलाई फोहोर देखाएर होइन । हामी हाम्रो पार्टीभित्रको दुर्गन्ध हटाएर सफा हुन चाहन्छौं ।’
‘रास्वपाको पहिलो महाधिवेशनमा शुभकामना दिन पुगेका सभापति थापाले रास्वपाको जनसमर्थनलाई मुक्तकण्ठले प्रशंसा गरे । पार्टी गठन भएको ४ वर्षमै तपाईंहरूले जुन जनसमर्थन पाउनुभएको छ । यो लोभलाग्दो छ । म मुक्तकण्ठले प्रशंसा गर्दछु,’ थापाले भने । रास्वपाले प्राप्त गरेको जनमत असाधारण रहेको उनले बताए । इतिहासमा करिब तीन चार पटकमात्रै राजनीतिक दलले यस्तो जनमत पाएको भन्दै ती प्राय सबै दुर्घटनामा परेको स्मरण गराए ।
