काठमाण्डौं । सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी ( रास्वपा ) का सभापति रवि लामिछाने भारत भ्रमणमा जाने भएका छन्। वालेन्द्र शाहको नेतृत्वमा रास्वपाले सरकार बनाएपछि भारत भ्रमण गर्ने लामिछाने पहिलो नेता हुनेछन्। भारतको विदेश मन्त्रालयको निमन्त्रणमा उनी अर्को साता दिल्ली जाने तय भएको हो। जुन १–२ ( जेठ १८–१९ ) मा हुने भ्रमणको क्रममा लामिछाने र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीबीच भेट हुन सक्ने आकलन छ। तर स्रोतहरूका अनुसार अहिलेसम्म यो उच्च भेट निश्चित भइसकेको छैन।
भ्रमणको क्रममा लामिछानेसँग भारतीय विदशेमन्त्री एस जयशंकर र अन्य मन्त्रीहरू, विदेश सचिव विक्रम मिश्रीसहित उच्च अधिकारीहरूसँग भेट तय भएको रास्वपाका नेताहरूले बताएका छन्। लामिछानेको यो भ्रमण पार्टीगत भएकाले उनलाई भारतको सत्तारुढ भारतीय जनता पार्टीको मुख्यालयमा स्वागत गर्ने तयारी छ। जहाँ उनले भाजपाका अध्यक्ष नितिन नवीनसँग भेटवार्ता गर्नेछन्।
भारतले सत्तारुढ पार्टीका प्रमुख नेताहरूलाई विदेश मन्त्रालयको निमन्त्रणामा भ्रमण गराउँदै आएको छ। यसअघि नेपाली कांग्रेसका तत्कालीन सभापति शेरबहादुर देउवा, तत्कालीन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भारतीय विदेश मन्त्रालयको निमन्त्रणामा भ्रमण गरिसकेका छन्। देउवा र प्रचण्ड दुवै भाजपा मुख्यालय पनि पुगेका थिए।
प्रधानमन्त्री बालेन्द्र शाहको भारत भ्रमण अनिश्चित भइरहेका बेला सभापति लामिछाने दिल्ली जान लागेका हुन्। निर्वाचनपछि दुई तिहाइ बुहमतसहित सरकार बनाएपछि रास्वपा सभापति लामिछानेको पहिलो भारत भ्रमणलाई चासोका साथ हेरिएको छ। यसअघि संसदको चौथो पार्टी र दुई पटक गृहमन्त्री भएपनि उनी भारत भ्रमणमा गएका थिएनन्।
प्रधानमन्त्री शाहसँग भेट नहुने भएपछि भारतीय विदेश सचिव मिश्रीको नेपाल भ्रमण स्थगित भएको थियो। यस्तै मे अन्तिमका लागि तय भएको परराष्ट्रमन्त्री शीशीर खनालको भारत भ्रमण पनि स्थगित भइसकेको छ। भारत र चीनले लिपुलेक नाका हुँदै पुनः व्यापार थाल्ने घोषणा गरेपछि नेपालले दुवै देशलाई कुटनीतिक नोट पठाएर त्यसको विरोध जनाएको छ। बालेन सरकार बनेयता नेपाल भारत सम्बन्धमा कुनै नयाँ प्रगती हुन सकेको छैन।
