काठमाडौं । एमालेको सचिवालय बैठकमा पार्टीका चार जना उपाध्यक्षहरूले नेतृत्व रुपान्तरणको माग मागेका छन् । ओलीबाट पार्टी रुपान्तरण हुन नसक्ने निष्कर्षमा पुगेका उनीहरूले पार्टी रुपान्तरण र पुस्तान्तरणको माग गरेका हुन् । आजको बैठकमा ५ जना उपाध्यक्षहरूले बोलेका थिए ।
ती मध्ये विष्णु पौडेल, पृथ्वी सुब्बा गुरुङ, गोकर्ण विस्ट र रघुजी पन्तले रुपान्तरण र पुस्तान्तरणको धारणा राखेका हुन् । उपाध्यक्ष रामबहादुर थापाले भने ओलीको नेतृत्वको पक्षमा बोलेका थिए । उपाध्यक्षहरु विष्णु पौडेल, पृथ्वीसुब्बा गुरुङ, गोकर्ण विष्ट र रघुजी पन्तले ओलीको राजीनामा मागेका हुन् ।
एमालेलाई कमजोर अवस्थामा पुर्याएको जिम्मावारी लिँदै ओलीले राजीनमा दिनुपर्ने र नेतृत्वको हस्तान्तरण हुनुपर्ने उनीहरुको माग थियो । बादल भने ओलीको प्रतिरक्षामा उभिए ।ओलीले भने राजीनामा नदिने अडान लिएका छन् । उनले उपाध्यक्षहरुलाई विरोधीहरुसँग मिलेर पार्टीलाई संकटमा पार्न खोजेको आरोप लगाए । ‘हामीले रुपान्तरणको कुरा गरेका छौं’ एक उपाध्यक्षले भने,’यसबारेमा पार्टीका अन्य नेताहरूले धारणा राख्न बाँकी छ ।’ पाँच उपाध्यक्षले बोलेपछि आजको बैठक स्थगित भएको छ ।
