वीरगञ्ज । मेडिकल व्यवसायी एवं अभियानकर्मी दुर्गा प्रसाईंलाई प्रहरीले पर्साबाट पक्राउ गरेको छ। सोमबार वीरगञ्जस्थित एक होटलमा बसिरहेको अवस्थामा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो। प्रसाईं होटलमा बसिरहेकै समयमा ‘इमर्जेन्सी पक्राउ पुर्जी’ भन्दै प्रहरीले उनलाई नियन्त्रणमा लिएको थियो।
मंगलबार वीरगञ्जमा आयोजना हुने एक कार्यक्रममा सहभागी हुन उनी सोमबार मात्रै त्यहाँ पुगेका थिए। पर्सा बसाइका क्रममा प्रसाईंले आफ्नो पार्टी र ‘राष्ट्र, राष्ट्रियता धर्म संस्कृति र नागरिक बचाउन महाअभियान’ का सदस्यहरूसँग भेटघाट गर्ने कार्यतालिका थियो।
सदस्यहरूसँगको भेटघाट र कार्यक्रम सुरु हुनुअघि नै प्रहरीले उनलाई होटलबाटै उठाएको हो। प्रसाईंलाई कुन मुद्दा वा कसुरमा पक्राउ गरिएको हो भन्नेबारे प्रहरीले औपचारिक रूपमा विस्तृत विवरण सार्वजनिक गरेको छैन।
