काठमाण्डौं । सुदूरपश्चिमका लागि यो उपाधि विशेष रह्यो। पहिलो र दोस्रो संस्करणमा लगातार फाइनल पुगे पनि उसले उपाधि जित्न सकेको थिएन। पहिलो संस्करणमा जनकपुर बोल्ट्ससँग पराजित भएको सुदूरपश्चिम दोस्रो संस्करणको फाइनलमा लुम्बिनी लायन्ससँग हारेको थियो। तेस्रो प्रयासमा भने सुदूरपश्चिमले इतिहास बदल्न सफल भयो। यसपटक पनि उपाधि यात्रामा उसका लागि लुम्बिनी नै ठूलो चुनौती बनेको थियो। लिग चरणको पहिलो खेलमै लुम्बिनीसँग पराजित भएको सुदूरपश्चिम पहिलो क्वालिफायरमा पनि त्यही टोलीसँग हारेको थियो।
तर, दोस्रो क्वालिफायरमा चितवन राइनोजलाई पराजित गर्दै फाइनलमा स्थान बनाएको सुदूरपश्चिमले निर्णायक खेलमा भने लुम्बिनीलाई कुनै मौका दिएन। अघिल्ला दुई फाइनलको हारको पीडा भुलाउँदै तेस्रो प्रयासमा उसले उपाधि उचाल्यो। यसअघि टस हारेर पहिले ब्याटिङ गरेको लुम्बिनीले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १५५ रन बनाएको थियो। लुम्बिनीका लागि दिलीप नाथले सर्वाधिक ३९ रन बनाए। उनले ३१ बलमा ३ छक्कासहित अविजित इनिङ्स खेले।
कप्तान रोहितकुमार पौडेलले ३१ बलमा ३० रन बनाउँदा निरोशन डिक्वेलाले १७ बलमा २८ रन जोडे। डार्सी सर्टले १८ बलमा २१ र अली शेखले १२ बलमा २४ रन बनाए। अलीले २ चौका र २ छक्का प्रहार गरे। लुम्बिनीको सुरुवात भने राम्रो हुन सकेन। दोस्रो ओभरको दोस्रो बलमै आशिफ शेख १ रनमा आउट भए। स्कट कुगेलेइनले उनलाई एलबीडब्लू धरापमा पारे। त्यसपछि डार्सी सर्ट र रोहितले दोस्रो विकेटका लागि ३० रन जोडे। सर्ट २१ रन बनाएर पाँचौँ ओभरमा आउट भए।
रोहित र डिक्वेलाले तेस्रो विकेटका लागि ३९ रनको साझेदारी गर्दै लुम्बिनीको इनिङ्स सम्हाले। डिक्वेला २८ रन बनाएर १०।१ ओभरमा आउट भए। त्यसपछि रोहित र दिलीप नाथले चौथो विकेटका लागि ३४ रन जोडे। तर, १५औँ ओभरको अन्तिम बलमा रोहित रनआउट भए। दिलीपसँगको रन लिने क्रममा भएको तालमेल अभावले उनले विकेट गुमाएका थिए। दिलीपले रनका लागि कल गर्नुअघि नै रोहित दौडिएका थिए। रोहितले ३० रन बनाए।
त्यसपछि सन्दीप जोरा पनि ४ रनमै आउट भए। दिलीप र अलीले छैटौँ विकेटका लागि ३३ रनको साझेदारी गरेपछि लुम्बिनीले अन्तिम ओभरमा गति बढायो। अली २४ रन बनाएर आउट भए पनि दिलीप अन्तिमसम्म क्रिजमा रहे। सुदूरपश्चिमका बलरहरूले लुम्बिनीलाई १५५ रनमा रोक्न महत्त्वपूर्ण भूमिका खेले। स्कट कुगेलेइनले ४ ओभरमा २५ रन दिएर २ विकेट लिए। हेमन्त धामीले ४ ओभरमा २३ रन खर्चेर १ विकेट लिए। थारिन्दु रत्नायकेले २४ रनमा १ विकेट लिँदा कप्तान दीपेन्द्रसिंह ऐरीले २५ रन दिएर १ विकेट हात पारे।
तर, अनिल खरेल र इशान पाण्डेको बलिङ भने महँगो साबित भयो। अनिलले २ ओभरमा २५ र इशानले २ ओभरमा ३० रन खर्चिए। दुवैले विकेट लिन सकेनन्। लुम्बिनीले यी दुई बलरविरुद्ध आक्रामक ब्याटिङ गर्दै रन गति बढाएको थियो। तर, लुम्बिनीले बनाएको १५५ रनको योगफल मन्सीको ब्याटिङसामु निकै कम साबित भयो। सुदूरपश्चिमले फाइनलमा १० विकेटको शानदार जित निकाल्दै तेस्रो संस्करणको उपाधि आफ्नो नाममा लेखायो।
