बुटवल । रूपन्देहीको बुटवलका भूमिहीन, सुकुमवासी तथा अव्यवस्थित बसोवासीले आफूहरू रहेकै स्थानमा तत्काल लालपुर्जाको ग्यारेण्टी गर्न सरकारसँग माग गरेका छन् । आइतबार बुटवलमा प्रदर्शन गरी उनीहरूले जनताको घरटहरामा डोजर लगाउने कार्य बन्द नगरे सरकारको दिनगन्ती शुरु हुने चेतावनी दिएका छन् । सरकारको ध्यान महँगी नियन्त्रण र सीमा रक्षातर्फ नभई गरिबका घरटहरा भत्काउनेतर्फ केन्द्रित भएको आरोप लगाए।
७० हजार हेक्टरभन्दा बढी नेपाली भूमि छिमेकी मुलुकले हड्प्दा मौन बसेको सरकारले आफ्नै नागरिकमाथि डोजर आतंक सिर्जना गरेको भन्दै उनीहरूले आपत्ति जनाए । दैनिक १५ सयभन्दा बढी युवा वैदेशिक रोजगारीमा जान बाध्य भएको र बाकसमा शव फर्किने क्रम नरोकिएको भन्दै उनीहरूले सरकार जनताप्रति अनुदार बनेको आरोप लगाए । वर्षौँदेखि बसोबास गर्दै आएका अव्यवस्थित बसोबासी तथा भूमिहीनहरूलाई हटाउन नहुने भन्दै २२ जिल्लाका सुकुम्वासीहरूले बुटवलमा प्रदर्शन गरेका हुन् ।
नेपाल भूमिहीन सुकुम्वासी तथा अव्यवस्थित बसोबासी संघर्ष समिति, रूपन्देहीको आयोजनामा प्रदर्शन भएको हो। बुटवलको राजमार्ग चौराहाबाट सुरु भएको विरोध प्रदर्शन तथा र्याली मिलनचोक, बसपार्क, पुष्पलाल पार्क हुँदै ट्राफिक चोक पुगेर कोणसभामा परिणत भएको छ। प्रदर्शनमा विशेष गरी तराईका २२ जिल्लाका सुकुम्वासी सहभागी छन्।
सरकारले विकल्पबिना गरिब, सुकुम्वासी तथा अव्यवस्थित बसोबासीका घरटहरामा डोजर चलाएर हटाउने, लखेट्ने गरेकाले विरोध प्रदर्शन गरिएको संघर्ष समिति संयोजक खगेन्द्र पौडेलले बताए। सरकारले दीर्घकालीन व्यवस्थापनको योजना तयार नगरेरै हतारमा वस्तीमा डोजर चलाउँदा देशभरका झण्डै १२ लाखभन्दा बढी परिवारका झण्डै ५० लाख नागरिक प्रभावित भएको उनको दाबी छ।
