काठमाण्डौं । राष्ट्रपति रामचन्द्र पौडेलले नीति र कार्यक्रम प्रस्तुत गरिरहेको बेला उठेर प्रधानमन्त्री वालेन्द्र शाह बाहिर गएपछि सामाजिक संजालमा अहिले चौतर्फी आलोचना भईरहेको छ । सामाजिक संजालमा प्रधानमन्त्री शाहको सो कार्यको बिरोध र आलोचना भईरहेको छ । यसैबिच प्रधानमन्त्रीका राजनीतिक सल्लाहकार असिम शाहले प्रधानमन्त्रीको स्वास्थ्यमा समस्या आएकाले हेही समयका लागि बाहिरिएको तर पछि फर्किएको सामाजिक संजाल मार्फत जानकारी गराएपनि सोे स्ट्याटस केही समयमै हटाएका थिए ।
प्रधानमन्त्री शाहको सो कार्यको बिभिन्न राजनीतिक दलहरु, संचारकर्मी, सामाजिक अभियन्ताहरुले मिश्रित प्रतिक्रिया दिईरहेका छन् । एमाले सांसद गुरु बरालले प्रधानमन्त्री वालेन्द्र शाह ९बालेन०को पोसाकदेखि संसद्मा नीति तथा कार्यक्रम प्रस्तुत हुँदै गर्दा गरेको साइड टक र नीति तथा कार्यक्रम प्रस्तुत भइरहेको बेला संसद् भवनबाट बाहिर गएको विषयमा सभामुखको ध्यानाकर्षण गराएका हुन् । प्रतिनिधि सभाको सोमबारको दोस्रो बैठकमा उनले प्रधानमन्त्रीको कार्यशैलीमा आपत्ति जनाएका हुन् ।
प्रधानमन्त्री शाह राष्ट्रपति रामचन्द्र पौडेलले नीति र कार्यक्रम प्रस्तुत गरिरहेको बेला उठेर बाहिर गएका थिए। यसलाई नेता बरालले बैठक बहिष्कार गरेर हिँडेको भन्दै आपत्ति पनि जनाएका हुन् । उनले नीति तथा कार्यक्रममाथि प्रधानमन्त्रीको दृष्टिकोण के हो भन्दै प्रश्न पनि गरे। त्यस्तै उनले प्रधानमन्त्री शाहले राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गरिरहँदा फ्रन्ट लाइनमा बसेर १५ मिनेट साइड टक गरेकोबारे पनि आपत्ति जनाए। संसदीय मर्यादाविपरित भएकाले त्यो छलफल हटाउन पनि उनले माग गरे। यसमा आफ्नो ध्यानाकर्षण भएको भन्दै के भएको रहेछ यसबारेमा आफूले बुझ्ने सभामुख डिपी अर्यालले बताए।
